
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । दमसम्बन्धी समस्याका कारण उपचाररत खरेलको आइतबार राति ९ः४५ बजेतिर बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
काभ्रेपलाञ्चोकको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल विद्यार्थी राजनीतिदेखि कांग्रेस आन्दोलनमा सक्रिय थिए । २०२० दशकदेखि नै नेविसंघमार्फत राजनीति सुरु गरेका उनी २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ र २०६२–०६३ को जनआन्दोलनमा सहभागी भएका थिए ।
झण्डै नौ वर्ष जेल जीवन बिताएका खरेल २०५६ मा सांसद बनेपछि शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका र समाज कल्याण मन्त्री बनेका थिए । उनी शिक्षाको पहुँच विस्तार र विद्यालय पूर्वाधार सुधारमा योगदानका लागि चिनिन्छन् ।
उनको पार्थिव शरीरलाई बिहान सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
निधनपछि पार्टीका नेता तथा कार्यकर्ताले उनको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि हिन्दु परम्पराअनुसार हुनेछ ।



















