
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्द सत्र आज (सोमबार) बिहानदेखि चितवनको प्रदर्शनी केन्द्रमा सुरु हुँदै छ ।
महाधिवेशनको तयारी र व्यवस्थापनका लागि प्रदर्शनी केन्द्रका तीन वटा ठुला हलहरू प्रयोग गरिएका छन्, जसमध्ये दुई वटा हलमा बन्द सत्र सञ्चालन हुनेछ भने एउटा हलमा खाना र खाजाको व्यवस्था गरिएको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको प्रारम्भ सभापति रबि लामिछानेले गर्ने छन्। आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र त्यसमाथि गहन छलफल गर्ने कार्य तालिका रहेको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्र बिहान ८ः३० बजे सभापति रबि लामिछानेबाट सत्रको प्रारम्भ हुनेछ। ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने र यसमाथि छलफल हुनेछ। बिहान ९ः०० देखि ९ः३० बजेसम्म कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ।
बिहान १०ः०० देखि १०ः४५ सम्म महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र छलफल हुनेछ। बिहान १०ः४५ देखि ११ः४५ सम्म सहमहामन्त्री विपिन कुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत र अनुमोदन गराउनेछन्। बिहान ११ः४५ देखि १२ः१५ सम्म उपसभापति डा। स्वर्णिम वाग्लेले अर्थ(राजनीतिक प्रस्तावना पेस गर्नेछन्।
त्यसपछि १२ः१५ देखि १ः१५ सम्म सभापति रबि लामिछानेले राजनीतिक प्रतिवेदन पेस, छलफल र अनुमोदन गर्नेछन्। दिउँसो १ः१५ देखि १ः२५ सम्म सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्ने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ।
दिउँसो १ः२५ पछि खानाको समय तोकिएको छ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्द सत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, सुपरिवेक्षक र स्वयंसेवक हुनेछन्।




















