
चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोबाट भरतपुरमा सुरु भएको छ । बन्दसत्र सोमबार नै सुरु गर्ने कार्यतालिका रहे पनि प्राविधिक कारण देखाउँदै एक दिनपछि सारिएको थियो ।
बन्दसत्र सुरु हुँदा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू उपस्थित भए पनि पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने उपस्थित नभएपछि महाधिवेशनस्थलमा त्यसका बारेमा विशेष चासो देखिएको छ ।
बन्दसत्रमा पार्टीको भावी नेतृत्व, केन्द्रीय समितिको चयन तथा संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण छलफल हुनेछ । महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र गुट–उपगुटको प्रवृत्ति बढ्न थालेको संकेत गर्दै चिन्ता व्यक्त गरेका छन् ।उनले रास्वपाले पुराना दलहरूकै जस्तो अभ्यास दोहोर्याए फरक परिणामको अपेक्षा गर्न नसकिने भन्दै प्रतिनिधिहरूलाई सचेत गराएका छन् ।
उनले विगतका राजनीतिक दलहरूमा देखिएको गुटबन्दीको संस्कृति रास्वपामा प्रवेश गरे त्यसले पार्टीलाई पनि उही दिशातर्फ धकेल्ने चेतावनी दिए । ‘हामीसँग पनि गुट–उपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ, फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ,’ उनले भने ।
लामिछानेले पुरानै शैली र संस्कृतिबाट नयाँ परिणाम आउने अपेक्षा गर्नु दिवास्वप्न हुने टिप्पणी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र विवेक प्रयोग गर्न आग्रह गरे । उनले कसैको प्रभाव, दबाब वा समूहगत आग्रहका आधारमा मतदान नगर्न आग्रह गर्दै योग्य र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने बताए ।
उनले केही प्रतिनिधिहरूलाई गलत उद्देश्यका साथ महाधिवेशनसम्म ल्याइएको हुनसक्ने आशंका पनि व्यक्त गरे । ‘यदि गलत तरिकाले कसैले तपाईंलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यहीँ रोक्नुस् । कसैले साथी बनाएर, प्रतिनिधि बनाएर यहाँसम्म ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने ।
सभापति लामिछानेले आफू कुनै पनि समूह वा प्यानलको पक्षमा नरहेको दाबी गर्दै आफूलाई ‘आइसोलेट’ राखेको बताए । जसले जिते पनि अन्ततः जित्ने भनेको रास्वपाको चुनाव चिह्न ‘घण्टी’ नै हुने उनको भनाइ थियो । उनले केन्द्रीय समितिमा पुग्ने व्यक्तिहरूको छनोट पार्टीको भविष्यसँग जोडिएको विषय भएकाले अत्यन्त विवेकपूर्ण निर्णय लिन प्रतिनिधिहरूलाई आग्रह गरे ।
पार्टीभित्र केही अफवाहहरू सुनिएको उल्लेख गर्दै लामिछानेले कसैले फलानो उम्मेदवारलाई भोट हाल्न र अर्कोलाई नहाल्न भनेकै आधारमा निर्णय नगर्न आग्रह गरे । ‘तपाईंले कसलाई भोट हाल्नुहुन्छ, त्यो तपाईंको कुरा हो । तर, यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन,’ उनले स्पष्ट पारे ।
यता, महाधिवेशनको महत्वपूर्ण बन्दसत्र सुरु भइसक्दा पनि वरिष्ठ नेता शाह अनुपस्थित रहेपछि विभिन्न अड्कलबाजी हुन थालेको छ । यद्यपि, उनी किन उपस्थित भएनन् भन्नेबारे पार्टीले औपचारिक रूपमा कुनै जानकारी दिएको छैन । शीर्ष नेतृत्वको उपस्थिति रहेको महाधिवेशनमा शाहको अनुपस्थितिले भने राजनीतिक वृत्तमा थप चासो उत्पन्न गरेको छ ।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ । यस्तो महत्वपूर्ण घडीमा पार्टीभित्र गुटबन्दी र प्रभावको राजनीति प्रवेश गर्न नदिन सभापति लामिछानेले सार्वजनिक रूपमा दिएको चेतावनीलाई महाधिवेशनको मुख्य सन्देशका रूपमा हेरिएको छ । वरिष्ठ नेता शाहको अनुपस्थितिले भने महाधिवेशनका अन्य गतिविधिसँगै थप चर्चा र जिज्ञासा जन्माएको छ ।

























