
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र देखिने असहमति र जिज्ञासालाई सार्वजनिक विवादको विषय नबनाई आन्तरिक छलफलबाट समाधान गर्नुपर्ने बताएका छन् ।
चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै उनले परिपक्व राजनीतिक दलको पहिचान समस्या समाधान गर्ने क्षमताबाट हुने उल्लेख गरे । उनले ठूलो र भव्य कार्यक्रम सञ्चालन गर्दा प्रक्रियागत कमजोरी वा असन्तुष्टि देखिनु अस्वाभाविक नभएको भन्दै त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । कतिपय विषयमा सबैको चित्त नबुझ्न सक्ने अवस्था आउने उल्लेख गर्दै उनले त्यस्ता विषयलाई पार्टीभित्रै बसेर संवादमार्फत टुंग्याउनुपर्ने धारणा राखे ।
लामिछानेले पार्टीभित्रका मतभेदलाई सडक वा सार्वजनिक तमासाको विषय बनाउन नहुने भन्दै स्वस्थ र स्वच्छ संगठन निर्माणका लागि आन्तरिक एकता आवश्यक रहेको बताए । उनका अनुसार रास्वपा आफ्ना असहमति एवं विवादलाई सभ्य र विशिष्ट ढंगले समाधान गर्न सक्ने अवस्थामा पुगेको छ ।
महाधिवेशनबाट नेतृत्व चयनका क्रममा कसैलाई पनि उम्मेदवारी दिनबाट रोक्ने नीति नरहेको स्पष्ट पार्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई चुनाव लड्न नदिने भन्ने चर्चा निराधार भएको बताए । पुराना र नयाँ सबै सदस्यलाई आफ्नो क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा गर्ने समान अवसर रहने उनको भनाइ थियो ।
पार्टीले कसलाई समर्थन गर्ने वा कसलाई मतदान नगर्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको उल्लेख गर्दै उनले प्रतिनिधिहरूलाई स्वतन्त्र विवेक प्रयोग गरेर नेतृत्व चयन गर्न आग्रह गरे । रास्वपा कुनै व्यक्ति वा समूहको निर्देशनभन्दा पनि सदस्यहरूको विवेकले चल्ने पार्टी भएको उनको दाबी थियो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिमाथि आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पाँच हजार रुपैयाँ प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने निर्णय गरिएको जानकारी पनि उनले दिए । शुल्क तिर्न नसक्ने वा तिर्न नचाहने प्रतिनिधिले रकम नतिरे पनि हुने र यसअघि तिरिसकेकाले फिर्ता चाहेको खण्डमा त्यसको व्यवस्था मिलाइने उनले बताए । आर्थिक कारणले कुनै प्रतिनिधि मतदान प्रक्रियाबाट बाहिरिनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता उनले व्यक्त गरे ।
लामिछानेले निर्वाचनका क्रममा प्यानल बनाएर वा समूहगत प्रचारमा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । ‘एक रास्वपा, एक घण्टी’ को भावनाअनुसार स्वस्थ प्रतिस्पर्धाबाटै पार्टी अझ परिपक्व र सुदृढ बन्ने उनको भनाइ थियो । बन्दसत्रमा विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनसँगै सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि मात्रै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ ।

























