
एजेन्सी । मोरक्कोको राजनीतिमा फातिमा एज्जहरा एल मन्सुरीले नयाँ इतिहास रचेकी छन् । स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय सरकारको मन्त्री हुँदै उनी देशको प्रधानमन्त्री बनेकी हुन् । राजा मोहम्मद छैटौंले मन्सुरीलाई देशको सर्वोच्च कार्यकारी पदमा नियुक्त गर्दै सरकार गठनको जिम्मेवारी दिएसँगै उनी मोरक्कोको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
हालै सम्पन्न संसदीय निर्वाचनमा मन्सुरी नेतृत्वको अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी (पीएएम) सबैभन्दा ठूलो दल बनेपछि उनलाई सरकार प्रमुख बनाइएको हो । ३९५ सदस्यीय प्रतिनिधिसभामा पीएएमले ९७ सिट जितेको छ । तर, सरकार गठनका लागि आवश्यक १९८ सिटभन्दा यो संख्या निकै कम भएकाले मन्सुरीले अन्य दलको समर्थन जुटाउनुपर्नेछ ।
निर्वाचनमा नेसनल र्याली अफ इन्डिपेन्डेन्ट्स (आरएनआई) ६६ सिटसहित दोस्रो र इस्तिकलाल पार्टी ६५ सिटसहित तेस्रो बनेका छन् । जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (पीजेडी)ले ५४ सिट प्राप्त गरेको छ । यस्तो अवस्थामा नयाँ प्रधानमन्त्रीका लागि सरकारको स्वरूप तय गर्नु प्रारम्भिक राजनीतिक चुनौती बनेको छ ।
५० वर्षीया मन्सुरीको राजनीतिक यात्रा भने प्रधानमन्त्रीको पदबाट सुरु भएको होइन । उनी कानुन व्यवसायी हुन् । फ्रान्सको युनिभर्सिटी अफ मोन्टपेलियरबाट कानुन अध्ययन गरेकी छन् । सन् २००८ मा स्थापना भएको पीएएमसँग उनी सुरुदेखि नै आबद्ध रहँदै आएकी छन् ।
सन् २००९ मा उनी मोरक्कोको प्रमुख सहर माराकेशको मेयर निर्वाचित भएकी थिइन् । त्यससँगै उनले माराकेशको पहिलो महिला मेयरका रूपमा पनि इतिहास बनाइन् । २०२१ मा पुनः मेयर निर्वाचित भएकी उनी त्यही वर्ष केन्द्रीय सरकारमा मन्त्री बनिन् ।
राष्ट्रिय भू–योजना, सहरी विकास, आवास तथा सहरी नीतिसम्बन्धी मन्त्रालय सम्हाल्दा मन्सुरीले आवास सहायता, सहरी विकास तथा भू–योजना सुधारका कार्यक्रम अघि बढाएकी थिइन् । अल हाउज भूकम्पबाट प्रभावित नागरिकको पुनर्वाससँग सम्बन्धित काममा पनि उनको भूमिका रहेको थियो ।
अब भने उनको जिम्मेवारी स्थानीय तह वा एउटा मन्त्रालयमा सीमित रहने छैन । प्रधानमन्त्रीका रूपमा उनले देशको समग्र आर्थिक तथा सामाजिक नीति अघि बढाउनुपर्नेछ । विशेषगरी रोजगारी, युवाका अवसर, महँगी, आम्दानी वृद्धि र सार्वजनिक सेवा सुधार नयाँ सरकारका महत्वपूर्ण विषय बन्नेछन् ।
मन्सुरी नेतृत्वको सरकारका लागि सन् २०३० को फिफा विश्वकप पनि ठूलो प्राथमिकताको विषय हुनेछ । मोरक्कोले स्पेन र पोर्चुगलसँग संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछ । प्रतियोगिताका लागि रंगशाला, यातायात, पूर्वाधार तथा अन्य सुविधाको विस्तारमा ठूलो लगानी आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापन नयाँ सरकारका प्रमुख जिम्मेवारीमध्ये हुनेछ ।
निर्वाचनमा करिब ३८ प्रतिशत मात्रै मतदान भएको तथ्यले पनि नयाँ सरकारसामु नागरिक सहभागिता र जनअपेक्षाको प्रश्न रहेको देखाउँछ । युवामा रोजगारी, स्वास्थ्य र शिक्षासँग जोडिएका असन्तुष्टि सम्बोधन गर्दै आर्थिक अवसर विस्तार गर्नु मन्सुरी सरकारका लागि अर्को महत्वपूर्ण विषय हुनेछ ।
मन्सुरीको नियुक्तिले मोरक्कोमा महिला नेतृत्वका लागि नयाँ राजनीतिक अध्याय सुरु गरेको छ । उनी अरब विश्वमा प्रधानमन्त्री बन्ने दोस्रो महिला पनि बनेकी छन् । यसअघि ट्युनिसियाकी नजला बौडेन सन् २०२१ मा प्रधानमन्त्री बनेकी थिइन् । उनी २०२३ सम्म पदमा रहेकी थिइन् ।
अब मन्सुरीका अगाडि राजनीतिक रूपमा गठबन्धन निर्माणदेखि आर्थिक तथा सामाजिक चुनौती सामना गर्ने र २०३० विश्वकपका लागि आवश्यक तयारी अघि बढाउनेसम्मका जिम्मेवारी छन् । स्थानीय राजनीतिबाट सुरु भएको उनको यात्रा अब मोरक्कोको राष्ट्रिय शासनको नेतृत्व गर्ने चरणमा पुगेको छ ।



















