महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ०९:३०
महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्य एवं व्यापार समितिको सभापतिमा नवीन रिजाल मनोनीत भएका छन् ।

मोरङ उद्योग व्यापार संघले एक कार्यक्रमका बीच संघका निवर्तमान अध्यक्ष तथा एफएनसीसीआईका केन्द्रीय सदस्य एवं व्यापार समितिको सभापति नवीन रिजाललाई सम्मान एवं बधाई दिएको छ । एफएनसीसीआईले रिजाललाई व्यापार समितिको सभापतिको महत्त्वपूर्ण जिम्मेवारी दिएको हुँदा  संघका अध्यक्ष अनुपम राठीसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनुपम राठीले निवर्तमान अध्यक्ष रिजाललाई खादा र माला लगाएर बधाई दिए । सो क्रममा अध्यक्ष राठीले रिजालको दुई दशक लामो गौरवमय यात्रा र ३३औँ कार्यसमितिको कुशल नेतृत्वको प्रशंसा गर्दै निजी क्षेत्रको हकहित, संरक्षण र समग्र आर्थिक विकासमा उनको योगदान सदा स्मरणीय रहने बताए ।

‘रिजालजीको प्रखर व्यक्तित्व, लामो अनुभव र परिणाममुखी कार्यशैलीका कारण महासंघ र व्यापार समितिले एक सबल नेतृत्व पाएको छ,’ अध्यक्ष राठीले भने, ‘उनको उपस्थितिले महासंघको नेतृत्वलाई थप गतिशील बनाउने मात्र नभई मोरङ उद्योग व्यापार संघको गरिमालाई समेत नयाँ उचाइमा पुर्‍याएको छ ।’

यस पटकसहित दोस्रो पटक महासंघको केन्द्रीय सदस्यका रूपमा चयन भएका रिजालले उद्योगी–व्यवसायीका समस्यालाई नीतिगत तहमा सशक्त ढंगले उठाउँदै आएका छन् । उनको यस नियुक्तिले मोरङ उद्योग व्यापार संघ मात्र नभई समग्र कोशी प्रदेशकै निजी क्षेत्रलाई गौरवान्वित तुल्याएको संघले जनाएको छ ।

कार्यक्रममा संघका पदाधिकारीहरूले रिजालको कार्यकालमा व्यापार समितिले देशको वैदेशिक व्यापार सहजीकरण र आन्तरिक बजार व्यवस्थापनमा ठोस कदम चाल्ने विश्वास व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.