
काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दै छ। अपराह्न १ः१५ बजेका लागि तय गरिएको बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई मुख्य प्राथमिकता दिइएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सभासमक्ष टेबल गर्नुहुनेछ।
आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ। छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विनियोजन शीर्षकहरू तय गरिएका छन् ।
यसका साथै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका लागि विनियोजित बजेटमाथि पनि आजै छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाबाट बजेट पारित भएपछि राष्ट्रिय सभामा पठाइएको र सोही विषयमा केन्द्रित रहेर आज राष्ट्रिय सभामा घनीभूत छलफल हुन लागेको हो।

























