एकता महाधिवेशनको सम्भावना कमजोर, देउवा समूह राष्ट्रिय भेलाको तयारीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १८:४८

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा पार्टीभित्रको आन्तरिक ध्रुवीकरण पनि थप स्पष्ट देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टीको बृहत्तर एकतासहित ‘एकता महाधिवेशन’ हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ ।

साथै, संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउन असार २२ गते सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने र त्यसपछि राष्ट्रिय भेला बोलाएर आगामी रणनीति तय गर्ने निर्णय पनि गरेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समीक्षा गर्दै संस्थापन पक्षले बृहत्तर एकताप्रति अपेक्षित इच्छाशक्ति नदेखाएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले अहिलेको अवस्थामा एकता महाधिवेशनको सम्भावना क्षीण बन्दै गएको बताए । उनका अनुसार नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले मतभेदका बीच पनि सहमति खोज्ने विश्वास आफूहरूमा अझै बाँकी छ । त्यसैले संवादको ढोका बन्द नगरे पनि नेतृत्व पक्षबाट त्यसअनुसारको व्यवहार नदेखिँदा एकताको आधार कमजोर हुँदै गएको उनको भनाइ थियो ।

उनले आफूहरूले लामो समयदेखि धैर्य गरेर सहमतिको प्रयास गरिरहेको उल्लेख गर्दै संस्थापन पक्षले भने आफ्ना गतिविधि एकतर्फी रूपमा अघि बढाइरहेको आरोप लगाए । उनका अनुसार नेतृत्व पक्षले अधिवेशनका कार्यक्रम सञ्चालन गर्दै जाँदा धेरै नेता कार्यकर्ता मूलधारबाट बाहिरिने अवस्था सिर्जना हुन सक्ने भएकाले पार्टी एकीकरणको सम्भावना झन् कमजोर बन्दै गएको छ ।

नेता प्रकाशशरण महतले पनि नेतृत्व पक्षको व्यवहारले पार्टीभित्र बृहत्तर एकता कायम गर्न कठिनाइ उत्पन्न भएको बताए । उनका अनुसार भेटघाटमा सबै कुरा मिलाउने प्रतिबद्धता जनाइए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकाले नेतृत्व पक्ष वास्तवमै एकताप्रति इच्छुक रहेको अनुभव हुन नसकेको बताए । यद्यपि, परिस्थिति परिवर्तन हुन सक्ने सम्भावना पूर्ण रूपमा समाप्त नभएकाले केही समय अझै संवाद र प्रयासलाई निरन्तरता दिनुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए ।

महतका अनुसार यस विषयमा शेखर कोइरालासँग पनि निरन्तर छलफल भइरहेको छ । दुवै पक्षको आधारभूत धारणा एउटै रहेको उनले बताए । कोइराला बैठकमा उपस्थित नभए पनि उनीसँग निरन्तर परामर्श भइरहेको महतको भनाइ छ ।

उनले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा आफ्नो समूहले पार्टीको बृहत्तर एकतालाई नै प्राथमिकतामा राखेको दाबी गर्दै पार्टीको नेतृत्वमा रहेकाहरूले नै त्यसतर्फ आवश्यक चासो नदिँदा समस्या बढेको टिप्पणी गरे । उनका अनुसार नेतृत्व पक्षका नेताहरूले फरकफरक व्यक्तिसँग फरक धारणा राख्ने गरेका छन् र ठूलो तथा समावेशी पार्टी निर्माणभन्दा आफूअनुकूलको संगठन बनाउनतर्फ बढी केन्द्रित देखिएका छन् ।

बैठकले संगठनात्मक तयारीलाई समेत अघि बढाउने निर्णय गरेको छ । त्यसअनुसार महाराजगञ्जमा स्थापना गरिएको १५औँ महाधिवेशन सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गरिनेछ । हाल कार्यालयको रङरोगन तथा व्यवस्थापनको काम भइरहेको बताइएको छ ।

सम्पर्क कार्यालय उद्घाटनपछि त्यहीँ बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने निर्णय पनि भएको छ । सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको देउवा समूहले अब देशभरका नेता कार्यकर्तालाई सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको हो । उक्त भेलामार्फत महाधिवेशन, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिका बारेमा थप निर्णय गरिने जनाइएको छ ।

शुक्रबारको बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, शशांक कोइराला, रमेश लेखक, एनपी साउद, प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे तथा मोहनबहादुर बस्नेतलगायत नेताहरू सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.