
विराटनगर । हरेक बिहान विराटनगर महानगरपालिका –१ पोखरियाकी ५२ वर्षीया कृषक सुमित्रा राजवंशीको दैनिकी सुरु हुन्छ । बुढीगंगा गाउँपालिकाको भित्री गाउँमा रहेको खेतबाट अघिल्लो दिन संकलन गरेको ताजा सागसब्जी, अलिकति चामल र बगानमा फलेको केराका घरीहरू एउटा रिक्सामा लोड गरेर उनी पोखरिया हाटतिर दौडिन्छिन् ।
चम्किला सपिङ मल र अनलाइन डेलिभरीका एपहरूले बजार ओगटिरहेको आधुनिक विराटनगरमा सुमित्राका लागि यो हटिया केवल एउटा बजार मात्र होइन, उनको परिवारको गुजारा चलाउने र दुई छोराछोरीलाई कलेज पढाउने एउटा दह्रो आर्थिक खम्बा हो ।
‘ठूला मलमा जानेहरू अर्कै होलान्, हाम्रो त यो हाटै संसार हो, यहाँ आउने ग्राहकले मेरो अनुहार र इमानदारी हेरेर सामान किन्छन्,’उनी भन्छिन्,’मैले उनीहरूको खल्ती हेरेर भाउ मिलाउछु । यो आत्मीयता आधुनिक पसलमा कहाँ पाइन्छ र ?’
आधुनिक बजारको तीव्र लहर चलेपनि विराटनगरमा पुस्तौदेखि हाटिया संस्कृतिकाे महत्व घटेकाे छैन । सुपरमार्केट र डिपार्टमेन्टल स्टोरहरू खुले पनि साप्ताहिक हाटबजारहरू आज पनि उत्तिकै गुञ्जायमान छन् ।
हाटिया केवल खरिद-बिक्री गर्ने थलो मात्र नभएर किसान, उपभोक्ता र स्थानीय अर्थतन्त्रबीचको एउटा बलियो मानवीय सम्बन्धको कडी पनि हो । हटियामा साना किसानले बिचौलियाको प्रभावविना आफ्नो खेतबारीको उत्पादन सिधै उपभोक्तालाई बेच्न पाउछन्, जसले गर्दा उनीहरूले श्रमको उचित मूल्य पाउछन् भने उपभोक्ताले पनि ताजा र सुलभ रुपमा सामग्री खरिद गर्छन् । यसरी हाटमा हुने आर्थिक कारोबारको ठूलो हिस्सा स्थानीय क्षेत्रमै घुमिरहने भएकाले यसले सहरको पैसा सिधै गाउँका किसानको हातमा पुर्याएर आर्थिक चक्रलाई चलायमान बनाइरहेको छ ।

विराटनगर महानगरपालिका र यसको आसपासका क्षेत्रमा हप्ताको सातै दिन कुनै न कुनै ठाउँमा हाट लाग्ने गर्छ । विराटनगरभित्र र यसको सिमाना जोडिएका क्षेत्रमा साना–ठूला गरी करिब १२ वटा साप्ताहिक हाटहरू सञ्चालनमा छन् । मंगलबार र शनिबार विराटनगर–१ मा लाग्ने पोखरिया हाट ताजा सागसब्जी र स्थानीय माछाका लागि प्रसिद्ध छ ।
विराटनगर–४ को कञ्चनबारी हाट आइतबार र बिहीबार लाग्छ, जहाँ स्थानीय कृषकहरूको सोझो पहुँच र दुग्धजन्य पदार्थको राम्रो बिक्री हुन्छ । सोमबार र बिहीबार लाग्ने विराटनगर–११ को पिचरा हाटमा खाद्यान्न र लत्ताकपडाको बाहुल्यता रहेको छ । विराटनगर–५ को बरगाछी हाट बुधबार र आइतबार लाग्ने गर्छ, जहाँ कोशी करिडोरका गाउँहरूबाट सोझै ताजा फलफूल ल्याइन्छ ।
मंगलबार र शुक्रबार लाग्ने विराटनगर–१२ को जामुनगाछी हाट र हाटखोला हाट सोमबार र बिहीबार लाग्ने गर्छ । हाटखोला हाट घुङ्गीका लागि प्रख्यात मानिन्छ । नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगर–१५ र १६ को रानी हाट बुधबार लाग्छ, जसले दुवै देशका उपभोक्तालाई जोड्ने काम गरेको छ।
पिचरा हाटमा विगत दुई दशकदेखि नियमित सामान किन्न आइरहेका विराटनगर–११ का ६५ वर्षीय सेवानिवृत्त शिक्षक रमेश श्रेष्ठ हाट लाग्ने दिनको प्रतीक्षा गर्छन् । उनको नजरमा हाटबजारको महत्त्व आर्थिक मात्र नभई गहिरो सामाजिक रुपमा पनि छ। ‘महल वा सुपरमार्केटमा जाँदा मान्छे मेसिन जस्तो बन्छन् । सामान टिप्यो, काउन्टरमा बिल तिर्यो, फर्कियो । त्यहाँ कसैले कसैलाई चिन्नुपर्दैन,’हाटको एउटा कुनामा तरकारी छानिरहेका श्रेष्ठ भन्छन्, ‘ हाटमा आउँदा पुराना सहकर्मी र छिमेकी भेटिन्छन्, सुख–दुःखका कुरा हुन्छन् । तरकारीको भाउ मोलभाउ गर्दागर्दै कतिन्जेल पुराना दिनको गफगाफ हुन्छ । यो हाम्रो उमेरका मान्छेका लागि सामाजिकीकरण र पुनः र्ताजगीको एउटा सुन्दर माध्यम पनि हो ।’
श्रेष्ठ जस्तै हठियामा किनमेल गर्न हाटखोला हाटमा पुगेगी भुमिका राई भन्छिन्, ‘म हरेक बिहिबार यहाँ घुङगी लिन तिनटोलीयाबाट आउने गर्छु । हाम्रो टोलका प्राय कोही सुपरमार्केटमा किन्दैनौं । यति टाढा चाहिँ घुङगी किन्न मात्र हो नभए नजिकैका हटियामा जाने गछौं । साथीहरुसँग गफ गर्दै यसरी ताजा किन्नुको रमाइलो अलगै छ । तरकारीहरु पनि सस्तोमा पाइन्छ ।’
डिजिटल युग र आधुनिकताको तीव्र दबाबका बीच पनि विराटनगरको हाटिया संस्कृतिले आफ्नो मौलिकता गुमाएको छैन, बरु समयअनुसार आफूलाई ढाल्दै लगेको छ । अचेल कतिपय हाटका ग्रामीण व्यापारीहरूले समेत डिजिटल वालेट र क्युआर कोड मार्फत पैसा लिन थालेका छन्, जसले परम्परागत बजारले प्रविधिलाई आत्मसात गरेको प्रष्ट पार्छ ।
विराटनगरका यी साप्ताहिक हाटहरू केवल व्यापारिक केन्द्र होइनन्, यो त पूर्वी नेपालको एउटा जीवित संस्कृति, स्थानीय अर्थतन्त्रको प्राण र पुस्तौँदेखिको मानवीय सम्बन्धको उत्सव हो । सपिङ मलका टावरहरू जतिसुकै अग्ला र आधुनिक बने पनि भुइँमा लाग्ने हाटियाको जरा र यसले समाजमा रोपेको आत्मीयता अझै पनि उत्तिकै गहिरो र बलियो छ ।

























