
रंगेली । मोरङको रंगेली नगरपालिका–७ को मुख्य बजारमा २०६४ सालदेखि सेवा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडको रंगेली शाखाले बिहीबार १९औँ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा समाजसेवी मनोज अग्रवालले प्रारम्भिक चरणमै रंगेलीमा सेवा विस्तार गरेको बैंकले लामो समयदेखि नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सेवाग्राहीमैत्री सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्थानीय बुद्धिजीवी मछिन्द्र कटुवालले बैंकसँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गर्दै संस्थाले सेवाग्राहीलाई सम्मान, आत्मीयता र विश्वासका साथ सेवा दिँदै आएको तथा आर्थिक कारोबारसँगै समाजप्रतिको दायित्व पनि प्रभावकारी रूपमा निर्वाह गरिरहेको बताए । शाखा प्रबन्धक दुर्गेश रौनियारले १९औँ वार्षिकोत्सव बैंकका लागि उत्सव नभई सेवाग्राहीप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसर भएको उल्लेख गर्दै आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवामार्फत ग्राहकको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए । वार्षिकोत्सवका अवसरमा रंगेली–७ का ७ वर्षीय अनमोल कटुवालको हातबाट केक काटेर स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा प्रकाश चिरानिया, वेदमणि घिमिरे, राजेश गोल्यानलगायत बैंकका कर्मचारी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।


























