
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विरोध जारी राखेका छन् ।
बैठक सुरु भएको घोषणा लगत्तै विपक्षी सांसदहरू उठेपछि सभामुख डोलप्रसाद अaर्यालले लामो समयदेखि एउटै विषयमा ध्यानाकर्षण गराइएकाले समय र सभाको मर्यादालाई ध्यानमा राखी विपक्षी बेन्चबाट एक जनाले धारणा राखेर बैठक अघि बढाउनलाई सहयोग गर्न आग्रह गरे । सभामुखको प्रस्तावअनुसार नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले विपक्षी दलहरूको तर्फबाट बोल्दै प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाटै आफ्नो अभिव्यक्तिका बारेमा तथ्य प्रस्तुत गर्नुपर्ने वा आवश्यक परे क्षमायाचना गर्नुपर्ने बताइन् ।
उनले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिनुपर्नेमा जोड दिँदै सुकुम्वासीको व्वस्थापन हुन नसकेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् । गत जेठ १७ गते प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि अतिक्रमण गरेको आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए ।
सो अभिव्यक्तिपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन् । उनीहरूको माग प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यगत आधार प्रस्तुत गर्नुपर्ने वा माफी माग्नुपर्ने रहेको छ ।
सांसद कामीले धारणा राखिसकेपछि सभामुखले बैठकको कार्यसूची अघि बढाउन खोजे पनि विपक्षी सांसदहरू फेरि उठे । उनीहरूले विपक्षी दलहरूको तर्फबाट एक जनालाई मात्र बोल्ने अवसर दिनु उपयुक्त नभएको भन्दै असन्तुष्टि जनाए ।

























