पीएम डेलिभरी युनिट स्थापना गर्दै सरकार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १२:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री कार्यसम्पादन एकाइ (‘पीएम डेलिभरी युनिट’) स्थापना गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा युनिट स्थापना हुनेछ ।

असार १८ गते मन्त्रिपरिषदबाट स्वीकृत १८ बुँदे राष्ट्रिय प्रतिवद्धतामा उल्लेख भएका विषयको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी ‘पीएम डेलिभरी युनिट’लाई दिन लागिएको हाे ।

गत १३ चैतमा शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी भएको थियो । उक्त कार्यसूचीबाहेक गत २१ फागुनको निर्वाचनमा सहभागी भएका र चुनावबाट आएका राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ ।

प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ । नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविष्यका सुधार एजेण्डासँग आवद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सबै प्रतिबद्धताहरूको कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्नेछन् ।

नेपालमा स्थापना गर्न खोजिएको ‘पीएम डेलिभरी युनिट’ नयाँ अवधारणा भने होइन । बेलायतमा पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालमा सन् २००१ मा Prime Minister’s Delivery Unit (PMDU) स्थापना गरिएको थियो । यो मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेर प्रधानमन्त्रीलाई प्रत्यक्ष रिपोर्ट गर्ने संरचना थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.