शनिबार राति पक्राउ परेका २६ जेनजी अभियन्ता आइतबार बिहान छुटे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १२:४०

विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने क्रममा पक्राउ परेका २६ जना जेनजी अभियन्ता छुटेका छन् । शनिबार राति जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्नामा बसेका २६ जना युवालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाइएकाे हाे ।

धर्नाका कारण जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वार अवरुद्ध भएपछि हट्न आग्रह गरिएको तर नमानेपछि शनिबार राति नियन्त्रणमा लिनुपरेको उनले बताए ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेको घटनापछि उनीहरूलाई भेट्न पुगेका अभियन्ता माजिद अन्सारीसहितका युवासँग प्रहरीको विवाद भएको थियो । उक्त घटनाको विरोध गर्दै शनिबार राति करिब ९ बजेदेखि विराटनगरका युवाहरू जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्नामा बसेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.