
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै नेपाली कांग्रेसका सांसद निश्कल राईले दिएको अभिव्यक्तिलाई लिएर संसद्मा विवाद भएको छ ।
विशेष समयमा बोल्दै सांसद राईले सरकार प्रधानमन्त्रीमाथि उठ्ने प्रश्नलाई अस्वीकार्य बनाउने प्रयासमा रहेको आरोप लगाए । सोही क्रममा उनले प्रधानमन्त्री शाहलाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारको आलोचना गरेका थिए । उनले सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने दिशामा अघि बढिरहेको टिप्पणी पनि गरे ।
राईको उक्त अभिव्यक्तिपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवजयी यादवले नियमापत्ति जनाए । उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको स्मरण गराउँदै प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेर सम्बोधन गर्नु संविधान र संसदीय मर्यादाअनुकूल नभएको बताए ।
यादवले उक्त शब्दावली संसदीय अभिलेखबाट हटाउन सभामुखसमक्ष माग गर्दै संविधानले स्वीकार नगर्ने भाषा संसद्को रेकर्डमा राख्न नहुने र हटाउनुपर्ने धारणा व्यक्त गरे ।

























