फाइल फाेटाेविराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित सास्तम कलेजनजिक रानी–जोगवनी सडकखण्डमा करिब पाँच महिनाअघि मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको मंगलबार मृत्यु भएको छ ।
उपचारपछि घर फर्किएका युवकको दुर्घटना भएको करिब पाँच महिनापछि मृत्यु भएको हो । प्रहरीका अनुसार २०८२ फागुन ४ गते राति ९ः२० बजेतिर विराटनगरबाट रानीतर्फ जाँदै गरेको को १–०२–०५० प २३७१ नम्बरको मोटरसाइकललाई पछाडिबाट प्र १–०२–०५४ प ४३८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ४३८९ नम्बरको मोटरसाइकल चालक विराटनगर–१३ का ३५ वर्षीय नितेश राय तथा अर्को मोटरसाइकलको पछाडि सवार विराटनगर–१८ का ४५ वर्षीय मनिष यादव र विराटनगर–१८ का २५ वर्षीय रुपेश यादव घाइते भएका थिए । घाइते भएमध्ये गम्भीर अवस्थाका मनिष र रुपेशको न्यूरो अस्पतालमा उपचार गराइएको थियो ।
उपचारकै क्रममा मनिषलाई फागुन ५ गते चिकित्सकले मृत घोषणा गरेका थिए । ४३८९ नम्बरको मोटरसाइकल चालक नितेशलाई भने कोशी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको थियो ।
तीन जना सवार रहेको २३७१ नम्बरको मोटरसाइकलका चालक विराटनगर–१८ का ४० वर्षीय नित्यानन्द यादव दुर्घटनापछि फरार भएका थिए । दुर्घटनाको भोलिपल्ट नित्यानन्दले चलाएको मोटरसाइकलको पछाडि सवार मनिषको मृत्यु भएको थियो ।
उक्त मोटरसाइकलको पछाडि सवार रहेका रुपेश यादवको भने लामो समयसम्म उपचार चलेको थियो । उपचारपछि २०८२ चैत २९ गते न्यूरो अस्पतालबाट डिस्चार्ज गरी उनलाई विराटनगर–१४ जतुवास्थित ससुराली घरमा लगेर राखिएको थियो ।
उपचारपछि डिस्चार्ज भएको लामो समयपछि रुपेशको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएको करिब पाँच महिनापछि उनको मृत्यु भएको हो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टमपछि मंगलबार नै परिवारका सदस्यले शव बुझेर लगेका छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























