कांग्रेसका मन्त्री भन्छन् : कोशी सरकार तत्काल ढल्दैन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १०:२२

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री एवं नेपाली कांग्रेसका नेता भीम पराजुलीले कोशी प्रदेश सरकार तत्काल नढल्ने बताएका छन् । कोशीको विशिष्ट संवैधानिक परिस्थितिका कारण तत्काल राजीनामा दिने वा सरकार परिवर्तन गर्ने अवस्था नरहेको बताएका हुन् ।

मन्त्री पराजुलीले बारम्बारको सरकार परिवर्तन र राजनीतिक अस्थिरताले प्रदेशको गरिमा घटाउनुका साथै संघीयताको औचित्यमाथि नै प्रश्न उठ्ने खतरा औंल्याएका छन् । केन्द्रमा कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने बताए पनि पराजुलीले कोशीको हकमा असहमति नरहेको बताए । ‘हामी अहिले पूर्ण समझदारीमा छौं । केन्द्रबाट पनि तत्काल राजीनामा दिनुस् भन्ने कुनै निर्देशन आएको छैन । हामी केन्द्र र प्रदेश कार्यसमितिको निरन्तर समन्वयमा छौं,’ उनले भने ।

Advertisement

कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेकाले यसको विघटनले प्रदेशलाई मध्यावधि निर्वाचनमा लैजाने जोखिम रहेको पराजुलीको तर्क छ । ‘अरु प्रदेश र कोशीको संवैधानिक अवस्था फरक छ । यहाँको अस्थिरताले संवैधानिक संकट निम्त्याउन सक्छ । त्यसैले कोशीलाई अन्य प्रदेशको डालोमा राखेर हेर्नु हुँदैन,’ उनले भने ।

उनले प्रदेशले आफ्ना अधिकार प्रयोग गर्न नपाउने र हरेक कुरा केन्द्रबाट निर्देशित हुने हो भने संघीयता कार्यान्वयनमा जटिलता आउने बताए । पछिल्लो समय कोशी प्रदेशमा भइरहेको राजनीतिक अस्थिरताप्रति जनतामा चरम निराशा छाएको पराजुलीले स्वीकार गरे ।

‘हरेक तीन–चार महिनामा सरकार फेरिने खेललाई जनताले मन पराएका छैनन्,’ उनले भने, ‘बारम्बारको यो खेलले जनतामा व्यवस्थाप्रति नै वितृष्णा जगाउँछ । अहिलेको मुख्य आवश्यकता भनेको प्रदेशलाई बलियो बनाउनु र डेलिभरी दिनु हो ।’ नेपाली कांग्रेस संसदीय दलभित्र संस्थापन र इतर पक्षबीचको विवादका कारण निर्णय लिन ढिलाइ भएको भन्ने चर्चालाई मन्त्री पराजुलीले निराधार बताएका छन् ।

उनले कोशी प्रदेशमा कांग्रेस एक ढिक्का रहेको र नेकपा (एमाले)सँग पनि सौहार्दपूर्ण सम्बन्ध रहेको दाबी गरे । सहमति र सहकार्यको वातावरण बनेमा एमालेले कांग्रेसलाई नेतृत्व सुम्पिन तयार रहेको बताउँदै उनले भने, ‘नेतृत्व तहले मुलुकको समग्र परिस्थिति र प्रदेशको भविष्य हेरेर परिपक्व निर्णय लिनेछ । हाम्रो लक्ष्य प्रदेशलाई अस्थिरताबाट जोगाउनु नै हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×