
काठमाडौं । व्यापक आलाेचना भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएकाे ३ प्रतिशत समता कर हटाएकाे छ । साउन १ गतेबाट शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लगाएपछि सरकारकाे आलाेचना भएकाे थियाे ।
मंगलबार प्रधानमन्त्री बालेन शाहले समता कर हटाउने घाेषणा गरे ।
शिक्षा र स्वास्थ्य कर हटाएपछि विद्युत उपभाेग कर हटाउने माग उठेकाे छ । सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले विद्युत उपभाेग कर हटाउन माग गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै विद्युतमा लगाएकाे कर पनि हटाउन माग गरेकका छन् ।
उनले सरकारलाई बिजुलीमा लगाएको भ्याट जस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन माग गरेका छन् । ‘सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले निजी शिक्षण संस्था र निजी स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य भएको भन्दै यस्तो माग गरेका हुन् ।

























