कपिलवस्तुमा भेटिए प्राचीन तामाका सिक्का र करुवा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार १४:४८
कपिलवस्तुमा भेटिए प्राचीन तामाका सिक्का र करुवा 

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ बभनीस्थित एक कृषकको खेतमा प्राचीन तामाका सिक्कासहितको करुवा फेला परेको छ । स्थानीय कृषक रामराज यादवको खेतमा काम गर्ने क्रममा सो ऐतिहासिक महत्वको वस्तु फेला परेको हो ।

कृषक यादवले उक्त तामाको करुवा करिब एक हप्ताअघि फेला पारेका थिए । सुरुमा उनले उक्त करुवा छिमेकी रोहित कोरीलाई दिएका थिए । कोरीले एक हप्तासम्म आफूसँगै राखेपछि दुई दिनअघि मात्रै उक्त करुवा स्थानीय पोखरीको छेउमा लगेर छाडिदिएका थिए । पोखरी किनारमा करुवा रहेको जानकारी पाएपछि वडाध्यक्ष दिरेपकुमार चौधरीले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

अहिले उक्त करुवा र सिक्का जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । करुवाभित्र तामाका सिक्काहरू कडा रूपमा टाँसिएर रहेकाले ती सिक्का निकाल्न निकै कठिन भइरहेको प्रहरीले जनाएको छ । सावधानीपूर्वक सिक्का निकाल्ने कार्य गरिरहेको छ ।

यी सिक्काहरू १२ देखि १३ औँ शताब्दीको पूर्वमल्ल कालका हुनसक्ने देखिएको छ । सिक्कामा मोहम्मद शब्द लेखिएकाले ती सिक्का अलाउद्दीनको पालाका हुन सक्ने अनुमान गरिएको छ । तथापि, यी मुद्रा र करुवाका बारेमा पुरातत्त्व विभागले विस्तृत अध्ययन अनुसन्धान गरेपछि मात्रै यसको वास्तविक ऐतिहासिक तथ्य र समय खुल्ने बताइएको छ ।

सिक्का र करुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी संग्रहालयलाई हस्तान्तरण गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×