
काठमाडौं । गुडिरहेको मोटरसाइकलमा जोखिमपूर्ण तरिकाले उभिएर ट्राफिक नियम उल्लघंन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताले आफ्नो कार्यप्रति आत्मबोध गर्दै माफी मागेका हुन् ।
सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि सिटमा उभिएर ‘स्टन्ट’ शैलीमा रमाइलो गरिरहेको देखिन्छ । सुरक्षाको न्यूनतम मापदण्ड समेत पालना नगरी गरिएको उक्त यात्राको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । सर्वसाधारणले ‘नियम सबैका लागि बराबर हुनुपर्ने’ भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गरेर उनीमाथि कारबाहीको माग गरेका थिए ।
आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उक्त घटनालाई ‘बाल्यकालको याद र उत्साह’ सँग जोडेका छन् । ‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए,’ उनले भनेका छन्, ‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लघंन गरेको कुरा आफैँ महसुस गरेको छु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’ उनले अब आफ्नो जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
ट्राफिक नियम उल्लघंनको विषयमा रास्वपाका सांसद विवादमा तानिएको यो पहिलो घटना भने होइन । यसअघि रास्वपाकै सांसद सृष्टि भट्टराई पनि गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर रमाइलो गरिरहेको भिडियोका कारण विवादमा आएकी थिइन् । यद्यपि, भट्टराईले उक्त भिडियो आफू सांसद हुनुभन्दा धेरै अगाडिको निजी समयको रहेको भन्दै स्पष्टीकरण दिएकी थिइन् ।

























