
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका महामहिम राजदूत डा. ड्यानियल म्याउली मोन्टेुलियनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय हित र सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको छ । भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगात्मक रहँदै आएको उल्लेख गरे ।
‘दुई मुलुकबीच हुने उच्चस्तरीय भ्रमणहरूले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन र नयाँ गति दिन सहयोग पुगेको छ,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपाल हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’
उपराष्ट्रपति यादवले स्विस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई निरन्तर राखेकोमा खुसी व्यक्त गरे । विशेषगरी भूकम्पपछिको पुनर्निर्माण, झोलुंगे पुल निर्माण, रोजगारी सिर्जना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रमहरूले जनस्तरको तल्लो तहसम्म प्रत्यक्ष लाभ पुर्याएको भन्दै उनले प्रशंसा गरे । उनले आगामी दिनहरूमा नेपाल र स्वीट्जरल्याण्डको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।
भेटका क्रममा राजदूत डा. मोन्टेुलियनले नेपाल र स्वीट्जरल्याण्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । राजदूत मोन्टेुलियनले स्विस सरकार नेपालको उद्योग लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् ।

























