
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप लगाएका छन्।
हालै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार निर्माणका सम्बन्धमा भएको सहमतिप्रति टिप्पणी गर्दै अध्यक्ष यादवले यी दलहरूकै कारण देश लामो समयदेखि अस्थिरतातर्फ धकेलिएको बताए ।
विगत ४० वर्षयता मिलिजुली र भागबन्डाका नाममा ३५ वटा सरकार बनेको भन्दै उनले जनताले स्थायी सरकार र विकास निर्माण चाहे पनि यी दलहरूलाई त्यसको कुनै वास्ता नरहेको दाबी गरे ।
प्रदेश सरकार गठनबारे एमाले-नेकपा सहमतिप्रति लक्षित गर्दै उनले भने, ‘यी दलहरूको खेल सकियोस्, त्यसपछि मात्र हामी हाम्रोतर्फबाट के गर्ने भन्नेबारे सोच्छौँ ।’
मधेस प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै पनि दलसँग छलफल नभएको उनले प्रस्ट पारे । मधेस प्रदेशमा हाल कांग्रेसका कृष्ण यादवको नेतृत्वमा एमाले र नेकपा सम्मिलित गठबन्धन सरकार छ भने जसपा नेपाल प्रतिपक्षमा छ । अध्यक्ष यादवले तीन दलको तमासा सकिएपछि मात्रै आफूले थप कदमबारे विचार गर्ने बताए ।
शनिबार एमाले र नेकपाबिच पाँचवटा प्रदेशमा सरकार गठनका लागि भागबन्डा भएको थियो । मधेस र गण्डकी प्रदेशमा भने अन्य दलहरूको सहयोग चाहिने भएकाले थप छलफल अघि बढाउने निर्णय ती दुई दलले गरेका छन् ।

























