
सुनसरी । देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले गृहमन्त्री सुधन गुरुङले स्थानीय तहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
गोलीकाण्डपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी लिन र पीडित परिवारलाई भेट्न घटनास्थल पुगेका गृहमन्त्रीले गाउँपालिकासँग आवश्यक समन्वय नगरी बैठक तथा छलफल गरेको आरोप मेहताले लगाएका हुन् । अध्यक्ष मेहताले संकटका बेला स्थानीय तहका जनप्रतिनिधिलाई बाइपास गरेर गरिने बैठकले समन्वयभन्दा दूरी र सहभागिताभन्दा उपेक्षाको सन्देश दिने बताए ।
उनका अनुसार घटनास्थल रहेको पालिकाका प्रमुखलाई नै जानकारी नदिई वा सहभागी नगराई गरिने गतिविधिले समस्या समाधानभन्दा थप अन्योल सिर्जना गर्न सक्छ । ‘गृहमन्त्रीज्यूले व्यवहारिकता देखाउनु भएन। उहाँ एक्लै बैठकमा जानुभयो,’ मेहताले भने, ‘हाम्रो पालिकामा आउनु भएको छ । एउटा व्यावहारिक पक्ष पनि हुन्छ । स्थानीय सरकारसँग समन्वय गर्नुपर्थ्यो ।’
उनले आफू पनि जनताबाट निर्वाचित प्रतिनिधि भएको उल्लेख गर्दै स्थानीय सरकारको सम्मान हुनुपर्ने धारणा राखे । ‘गृहमन्त्री हुँदैमा कुन ठूलो कुरा हुन्छ ? म पनि जनताबाट निर्वाचित भएर आएको हुँ । गृहमन्त्री पनि जनताबाटै निर्वाचित प्रतिनिधि हुनुहुन्छ । गाउँपालिका अध्यक्ष पनि जनताबाटै आएको हो,’ उनले भने, ‘पालिकाको कुनै मतलब नै भएन । यस्तो अभ्यास उचित होइन ।’
मेहताले स्थानीय तहको भूमिकालाई बेवास्ता गरिएको भन्दै सुरुमा आफू बैठकमा सहभागी नभएको पनि बताए । पछि सबैको आग्रहपछि अध्यक्ष मेहता गृहमन्त्री र पीडित पक्षबीचको छलफलमा गएका थिए ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ बिहीबार राति कप्तानगन्ज पुगेका थिए । घटनापछि सरकारले मृतकका परिवारसँग सहमति गरेको छ ।
उक्त सहमतिपत्रमा मृतकका परिवार र गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन् । तर, घटनास्थल रहेको स्थानीय तहसँग पर्याप्त समन्वय नगरी प्रक्रिया अघि बढाइएको भन्दै गाउँपालिका अध्यक्ष मेहताले असन्तुष्टि व्यक्त गरेका हुन् ।

























