
काठमाडौं । जापानको आइची र नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले २२ वटा खेलमा आफ्नो उपस्थिति जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार यस पटक नेपालबाट कुल १३६ खेलाडीले एसियाकै प्रतिष्ठित खेल महाकुम्भमा प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार सहभागी हुने १३६ खेलाडीमध्ये ८० पुरुष र ५६ महिला रहेका छन् । खेलाडीहरूलाई प्राविधिक रूपमा मार्गदर्शन गर्न ३२ जना प्रशिक्षकको टोली पनि जापान जाने तय भएको छ ।
कुन खेलमा कति खेलाडी
नेपालले यस पटक व्यक्तिगत र सामूहिक दुवै विधामा सहभागिता जनाउँदै छ । सहभागिताको विवरण यस प्रकार छ:
सामूहिक खेल: पुरुष क्रिकेटमा १५ खेलाडी र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन् । कबड्डीमा पुरुष र महिला दुवैतर्फ १२–१२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
मार्सल आर्ट्स: उसुमा ११ (८ पुरुष, ३ महिला), कराँतेमा ८ (३ पुरुष, ५ महिला), बक्सिङमा ७ (४ पुरुष, ३ महिला), जुडोमा ६ (३ पुरुष, ३ महिला), कुस्तीमा ६ (४ पुरुष, २ महिला) र तेक्वान्दोमा २ पुरुष खेलाडी रहनेछन् ।
अन्य खेलहरू: एथलेटिक्समा ६, टेनिसमा ५, पौडीमा ५, टेबल टेनिसमा ६, गल्फ र सफ्ट टेनिसमा ४–४ खेलाडी सहभागी हुनेछन् । यस्तै, ब्याडमिन्टनमा ४, आर्चरी, साइक्लिङ, स्क्वास र स्केट बोर्डमा समान २–२ खेलाडी तथा क्यानोइ स्लालममा २ र डान्स एन्ड स्पोर्ट्समा १ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
चीनको हाङझावमा भएको १९ औँ एसियाडको तुलनामा यस पटक नेपालको खेलाडी संख्या केही कम देखिएको छ । हाङझावमा नेपालले २९ खेलमा २५३ खेलाडी पठाएको थियो । संख्या कम भए पनि यस पटक नेपालले पदक जित्ने सम्भावना भएका खेलहरूमा बढी केन्द्रित हुने रणनीति लिएको देखिन्छ ।
गत १९ औँ एसियाडमा नेपालले १ रजत र १ कांस्य पदक जितेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो। कराँतेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए । दुवै विधामा पहिलो सहभागितामै पदक जितेर नेपालले इतिहास रचेको थियो । जापानमा हुने २० औँ एसियाडमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ ।
एसियाली खेलकुदको यो २० औँ संस्करण आगामी असोज ३ गतेदेखि सुरु हुनेछ । जापानको अत्याधुनिक पूर्वाधारमा हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको राखेपले जनाएको छ ।



















