
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले आफ्नो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको हो ।
प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनलाई दबाबमा राख्दै जित हात पारेको हो । कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।
चितवनका उसामा मिरले अविजित २८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रनको योगदान दिए ।
कर्णालीको जितमा बलर हुसैन तलातले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले तीन विकेट लिँदा पवन सर्राफ र मार्क वाटले समान दुई विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका हुसैन तलातले अविजित ५१ रन जोड्दै अर्धशतक पूरा गरे । अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन बनाए ।
चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालको नाममा एक–एक विकेट रह्यो ।
जितसँगै कर्णालीले प्रतियोगिताबाट बाहिरिनुअघि अन्तिम खेलमा आफ्नो क्षमता देखाएको छ । उता, पराजित भए पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

























