
एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमासलाई वास्तविक रूपमा निःशस्त्र नगरेसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारे।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास तथा अन्य सशस्त्र समूहलाई पूर्ण रूपमा निःशस्त्र बनाउने विषयमा सहमति भएको जनाएको थियो। तर हमासले आफ्ना भारी हतियार बुझाउने विषयलाई इजरायलले सबै प्रकारका सैन्य आक्रमण अन्त्य गर्ने र आफ्ना सेना गाजाबाट फिर्ता लैजाने शर्तसँग जोडेको छ।
गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविराममा सहमति भएयता पनि इजरायलले आक्रमण जारी राखेको छ। नेतन्याहुले आइतबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै इजरायलले १५ बुँदे प्रस्तावित दस्तावेज अस्वीकार गर्ने बताए। हमासलाई वास्तविक रूपमा निःशस्त्र नपारिएसम्म इजरायली सेना फिर्ता नहुने र सैनिक तथा नागरिकमाथि हुने खतरा रोक्न काम जारी राख्ने उनले बताए।
हमासका अधिकारीले अमेरिकाले गरेको सम्झौताप्रतिको प्रतिबद्धता दोहोर्याउँदै १५ बुँदे योजना कार्यान्वयन गर्न गम्भीर र जिम्मेवार ढङ्गले छलफल गर्न तयार रहेको बताएका छन्। उनले सबै पक्षले भएको सहमति पालना गर्ने सुनिश्चित गर्न मध्यस्थकर्ताहरूलाई आग्रह गरे।
इजरायलको अस्वीकृतिले ट्रम्पको गाजा शान्ति योजनालाई अर्को झट्का लागेको छ। योजनामा सम्झौता कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने, हमासलाई निःशस्त्र बनाउने, इजरायली सेना फिर्ता गर्ने र गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव समावेश थियो।नेतन्याहुको पछिल्लो भनाइ अप्रत्याशित नभए पनि उनले यस्तो धारणा सार्वजनिक गर्न केही समय लगाए।
यसले उनी कठिन राजनीतिक अवस्थामा रहेको सङ्केत गर्छ। नेतन्याहु ट्रम्पको योजनाप्रति असन्तुष्ट देखिए पनि आफ्ना नजिकका सहयोगीलाई चिढ्याउन चाहँदैनन्। ट्रम्पले हमास पहिलोपटक निःशस्त्र हुन सहमत भएको घोषणा गरेको एक साताभन्दा केही बढी समय मात्र भएको छ। तर त्यसका लागि हमासले इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने शर्त राखेको थियो।
आइतबार नेतन्याहुले हमास पहिले निःशस्त्र हुनुपर्ने र त्यसपछि मात्र इजरायली सेना फिर्ता हुने स्पष्ट पारे। उनले यो देखावटी नभई वास्तविक निःशस्त्रीकरण हुनुपर्ने बताए। वास्तविकता के हो भने हमासको निःशस्त्रीकरण र इजरायली सेनाको गाजाबाट फिर्ती दुवै काम चरणबद्ध रूपमा अघि बढाउनुपर्ने सम्भावना छ।



















