
काठमाडौं । ब्याडमिन्टन खेलको प्रतिष्ठित प्रतियोगिता ‘लिनिङ १४ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता’ सोमबारदेखि ललितपुरको ग्वार्कोमा सुरु भएको छ।
नेपाल खेलकुद महासंघको आयोजना तथा यल स्पोर्ट्स एकेडेमीको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमै अप्रत्याशित नतिजा निस्किएको छ । विश्व जुनियर वरीयतामा नम्बर १ रहिसकेका र हालका राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल पहिलो खेलमै पराजित भएका छन् । पुरुष शीर्ष ८ वरीयता अन्तर्गत समूह ‘ए’ को खेलमा एपीएफका दाहाल आफ्नै विभागका क्षितिज खनालसँग २–१ को सेटमा पराजित भए । खनालले दाहाललाई १६–२१, २१–१३ र २१–१६ ले स्तब्ध पारे ।
सोही समूहको अर्को खेलमा पुलिसका सुनील जोशीले जीवन आचार्यलाई पराजित गर्दै सुखद सुरुवात गरे । समूह ‘बी’ तर्फ भने आर्मीका प्रफुल महर्जन र पिस फिटनेसका विष्णु कटुवालले आआफ्नो खेल जितेका छन् ।
महिला शीर्ष ८ वरीयता तर्फ समूह ‘ए’ मा पुलिसकी सुषमा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई तथा आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई सहजै पराजित गरे । समूह ‘बी’ मा एपीएफकी रिहाना शेरचन र पुलिसकी नीता लम्सालले जित हात पारे । नीताले सिटिजन्स बैंककी भेट्रान खेलाडी नङ्गशल तामाङलाई कडा प्रतिस्पर्धाबीच पराजित गरिन् ।
साउन ३० गतेसम्म हुने प्रतियोगितामा ६० जिल्ला र तीन विभागीय टोलीका कुल ४८२ खेलाडीले १५ विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

























