
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाएका १९ वर्षीय रविन्द्र मेहताको बुधबार अपराह्न अन्तिम दाहसंस्कार गरिएको छ । काठमाडौंबाट हेलिकप्टरमार्फत उनको शव देवानगन्ज ल्याइएपछि अन्त्येष्टि गरिएको हो ।
गत साउन १० गतेको घटनामा परी गम्भीर घाइते भएका मेहताको काठमाडौंमा उपचारका क्रममा साउन १९ गते निधन भएको थियो । सरकारले उनलाई सहिद घोषणा नगरेसम्म र दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने परिवारको अडानका कारण उनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल मै रहेको थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मेहतासहित सुनसरी र सिरहाका विभिन्न घटनामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयपछि परिवारले शव बुझेर दाहसंस्कार गरेका हुन् । दाहसंस्कारका क्रममा स्थानीयवासी तथा आफन्तजनको ठुलो उपस्थिति रहेको थियो ।

























