अमेरिकामा १६ वर्षपछि एकैदिन तीन कैदीलाई मृत्युदण्ड

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १०:५७

एजेन्सी । अमेरिकामा १६ वर्षपछि पहिलो पटक एकैदिन तीन फरक राज्यका तीन जना कैदीलाई मृत्युदण्ड दिने तयारी गरिएको छ। टेनेसी, अलाबामा र ओक्लाहोमामा बिहीबार तीन पुरुषलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने तय भएको छ।

टेनेसीमा ६६ वर्षीय एन्थोनी ड्यारेल हाइन्सलाई सन् १९८५ मा मोटेलकी कर्मचारी क्याथरिन जिन जेन्किन्सको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो। उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको र तीन महिनाअघि टेनेसीमै टोनी कारुथर्सलाई घातक इन्जेक्सन दिने प्रयास नसा भेट्न नसकेर असफल भएकाले हाइन्सको मामिलामा पनि त्यस्तै समस्या आउन सक्ने भन्दै वकिलहरूले मृत्युदण्ड रोक्न माग गरेका छन्।

यस्तै, अलाबामामा ४१ वर्षीय जेरेमी विलियम्सलाई सन् २०२१ मा पाँच वर्षीया बालिका कमारी होल्यान्डको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको छ। उनले आफ्ना कानुनी पुनरावेदनहरू त्यागेर मृत्युदण्डमा सहमति जनाएका हुन्। ओक्लाहोमामा भने सन् २००३ मा आफ्नी प्रेमिकाको हत्या गरेका ७१ वर्षीय कार्लोस कुएस्टा–रोड्रिगेजलाई मृत्युदण्ड दिन लागिएको हो, जसको क्षमादान निवेदन अस्वीकृत भइसकेको छ।

अमेरिकामा यसअघि सन् २०१० जनवरी ७ मा अन्तिम पटक एउटै दिन लुइजियाना, ओहायो र टेक्सासमा गरी तीन जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०२५ मा ११ राज्यमा गरी ४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जुन सन् २००९ यताकै उच्च हो। मृत्युदण्डको संख्या बढे पनि यसको विधि, चिकित्सकीय जोखिम र नैतिकतामाथि बहस जारी छ भने पछिल्ला तथ्यांकले मृत्युदण्डप्रतिको जनसमर्थन घट्दै गएको देखाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×