रेड पान्डा संरक्षणका लागि सोलुखुम्बुमा ‘रेड पान्डा म्याराथन’ हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ११:०६
रेड पान्डा संरक्षणका लागि सोलुखुम्बुमा ‘रेड पान्डा म्याराथन’ हुने

विराटनगर । संकटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को संरक्षणमा जनचेतना जगाउने उद्देश्यले सोलुखुम्बुमा ‘रेड पान्डा म्याराथन’ आयोजना हुने भएको छ । रेड पान्डा नेटवर्कको आयोजनामा हुने यस प्रतियोगिताको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा हुन लागेको हो ।

यसअघिका दुई संस्करण ताप्लेजुङ र इलाममा सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिने सल्लेरीमा आयोजना हुने यस वर्षको म्याराथनले खेलकुदका माध्यमबाट रेड पान्डा संरक्षणको सन्देशलाई स्थानीय समुदायका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

Advertisement

यस वर्षको म्याराथन ४८ किलोमिटर लामो हुनेछ । समुद्र सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु हुने दौड ४ हजार ५४ मिटरको उचाइमा रहेको पिके पिकसम्म पुगेर पुनः सोही स्थानमा फर्किएर समापन हुनेछ । उच्च हिमाली क्षेत्र र कठिन भूगोलमा हुने यो दौडले साहसिक खेल पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रथमले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउने छ । यस्तै द्वितीयले १ लाख, तृतीयले ५० हजार र सान्त्वनाले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ ।  पुरुष र महिला दुवै विधामा दौड हुने छ । दुवै विधानमा समान पुरस्कार रहेको छ ।

प्रतियोगिता रेड पान्डा नेटवर्कको आयोजना र  ‘प्ले फर नेचर’ को सहयोगमा हुन लागेको हो । यसमा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुले स्थानीय सहकार्य गर्नेछ । रेड पान्डाको वासस्थान संरक्षण गर्न र यसको चोरी सिकारी नियन्त्रणमा समुदायको सहभागिता बढाउन सन् २०२४ देखि यो म्याराथन सुरु गरिएको हो ।

खेलकुद र प्रकृति संरक्षणलाई जोड्ने यस नवीन प्रयासले सोलुखुम्बुको पर्यटन प्रवर्द्धन र रेड पान्डा जोगाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.