
काठमाडौं । काठमाडौंमा भदौ १९ गतेदेखि ‘नेपाल भलिबल लिग’ प्रतियोगिताको हुने भएको छ । केडिया ग्रुपको आयोजनामा नेपालकै पहिलो व्यावसायिक फ्रेन्चाइज ‘नेपाल भलिबल लिग’ (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा आयोजना हुने भएको छ ।
प्रतियोगिताको तयारीलाई भव्य बनाउन आयोजक टोली पूर्ण रूपमा जुटिरहेको छ। यस ऐतिहासिक प्रतियोगिताको उद्देश्यबारे प्रष्ट पार्दै नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले भने, ‘नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ हामीले ‘नयाँ उडान, अझ उचाइतर्फ’ भन्ने नारा तय गरेका छौँ । यो लिग खेलाडी र दर्शक दुवैका लागि स्मरणीय र व्यावसायिक हुनेछ।’
लिगमा ६ वटा फ्रेन्चाइज टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ । जसका लागि खेलाडी अक्सन, प्रशिक्षक र मार्की खेलाडीहरूको घोषणा यसअघि नै भइसकेको छ। यस प्रतियोगिताले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक स्वरूप दिने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

























