‘एलाइट फाइट’ कप फुटबलको खेल तालिका सार्वजनिक 

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ १, सोमबार १०:०१
‘एलाइट फाइट’ कप फुटबलको खेल तालिका सार्वजनिक 

विराटनगर । लागुऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले विराटनगरमा पहिलो पटक फरक शैलीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘लागुऔषध सेवन नगरौँ’ भन्ने उद्देश्यका साथ विराटनगरमा आगामी भदौ ५ गतेदेखि ‘एलाइट फाइट नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । भदौ ५ देखि १० गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा खेल सञ्चालन हुनेछ ।

सुधार केन्द्र पुनर्स्थापना केन्द्र) मा रहेका र सुधार केन्द्रबाट फर्किएर व्यक्तिहरूलाई खेलकुदप्रति उत्प्रेरित गराउने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर युवा क्लब (टीडब्लुवाइसी) बसपार्कले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका संयोजक एवं जिल्ला फुटबल संघ मोरङका महासचिव विनेश बस्नेतका अनुसार कुलतमा फसेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा पुनर्स्थापित गर्न र उनीहरूलाई खेलप्रति आकर्षित गर्न यो प्रयास गरिएको हो ।

लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएले खेलकुदका माध्यमबाट सचेतना फैलाउन यो प्रतियोगिता सुरु गरिएको बताउँदै,’ बस्नेतले भने, ‘अन्य प्रतियोगिताहरू जस्तो यसमा व्यावसायिक क्लबका खेलाडी हुने छैनन् । यसमा विभिन्न सुधार केन्द्र (रिह्याब सेन्टर) मा बसेर फर्किएका वा सुधारको प्रक्रियामा रहेका युवाहरूले मात्र भाग लिनेछन् ।  युवा पुस्तालाई लागुऔषधबाट टाढा राख्न, उनीहरूलाई समाजमा पुनः स्थापित गराउन र खेलकुदमार्फत सकारात्मक सन्देश दिन हामीले यो जमर्को गरेको हो । हाम्रो मुख्य नारा नै ‘से नो टु ड्रग’ हो ।’

प्रतियोगितामा ४ वटा विराटनगरभित्रका र ४ वटा विराटनगर बाहिरका रहेका गरी ८ वटा सुधार केन्द्रहरूको सहभागिता रहेको छ ।  जसमा विराटनगरको जीवन दृष्टि पुनर्स्थापना केन्द्र, क्यान भास पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिप, लिबर्टी नेपाल, रहेका छन् । यस्तै, बेलबारीको बेलबारी प्लस, केराबारीको उद्धार पुनर्स्थापना केन्द्र, सुन्दरहरैँचास्थित विराट चोकको आश्रय सुधार केन्द्र र उर्लाबारीको जीवन बचाउ पुनर्स्थापना केन्द्रले पनि प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताको उद्‌घाटन खेलमा विराटनगरको रिचमण्ड फेलोसिप र जीवन दृष्टि बीच हुनेछ ।
त्यसैगरी, दोस्रो खेलमा बेलबारी प्लसले उद्धार पुनर्स्थापना केन्द्रको सामना गर्ने छ । अन्य खेलहरूमा जीवन बचाउ पुनर्स्थापना केन्द्र र आश्रय सुधार केन्द्र तथा अन्तिम नकआउट चरणको खेलमा विराटनगरको क्यानभास पुनर्स्थापना केन्द्र र लिबर्टी नेपालबीच प्रतिस्पर्धा हुने संयोजक बस्नेतले जानकारी दिए ।

कुल ६० मिनेटको हुने यस प्रतियोगितामा खेलाडी परिवर्तनमा कुनै सीमा (संकुचन) राखिएको छैन । सहभागी हुने खेलाडीहरू अनिवार्य रूपमा मोरङ जिल्लाकै हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । हाल मोरङमा विभिन्न स्थानमा गरी कुल २१ वटा सुधार केन्द्रहरू सञ्चालनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.