किशोरकिशोरीमा लत लगाएको आरोपमा अमेरिकामा मेटाविरुद्धको मुद्दाको सुनुवाइ सुरु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार ०९:४५

एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका र किशोरकिशोरीलाई फेसबुक तथा इन्स्टाग्रामको प्रयोगमा जानाजान ‘लत लगाएको’ आरोपमा अमेरिकामा मेटाविरुद्धको महत्त्वपूर्ण कानुनी मुद्दाको सुनुवाइ सुरु भएको छ।

क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा मंगलबारदेखि सुरु भएको सुनुवाइमा २९ अमेरिकी राज्यका वकिल र मेटाका कानुनी प्रतिनिधिले आ–आफ्ना दाबी प्रस्तुत गरेका छन्। मुद्दाको सुनुवाइ करिब छ सातासम्म चल्ने अपेक्षा गरिएको छ।

क्यालिफोर्नियाका वकिल मेगन ओ’निलले मेटाले इन्स्टाग्राममा ११ र १२ वर्षका लाखौँ बालबालिका रहेको थाहा पाए पनि उनीहरूलाई प्लेटफर्म प्रयोग गर्नबाट रोक्न पर्याप्त कदम नचालेको आरोप लगाइन्। तर, मेटाका प्रमुख वकिल पल स्मिटले त्यस्ता प्रयोगकर्ता एक लाखभन्दा केही बढी मात्र रहेको दाबी गर्दै सामाजिक सञ्जालको ‘लत’ भन्ने अवधारणालाई नै चुनौती दिए।

राज्य पक्षले मेटालाई आफ्ना प्लेटफर्मले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पार्ने कुरा थाहा हुँदाहुँदै पनि प्रयोगकर्ता आकर्षित गर्न जारी राखेको आरोप लगाएको छ। मेटाले भने सामाजिक सञ्जालबाट सकारात्मक अनुभव प्राप्त गर्ने किशोरकिशोरीको ठूलो संख्यालाई राज्य पक्षले बेवास्ता गरेको दाबी गरेको छ।

सन् २०२३ मा क्यालिफोर्निया र न्युयोर्कसहित २९ अमेरिकी राज्यले मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। राज्यहरूले बालबालिकाको गोपनीयतासम्बन्धी संघीय तथा राज्य कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राज्यहरूले मेटाबाट अर्बौँ डलर क्षतिपूर्ति माग्नुका साथै फेसबुक र इन्स्टाग्राममा ‘लाइक’ को संख्या देखाउने तथा अनन्तसम्म स्क्रोल गर्न मिल्ने ‘इन्फिनिट स्क्रोल’ जस्ता सुविधामा परिवर्तन गर्न माग गरेका छन्।

सुनुवाइको पहिलो दिन मेटाका वकिल स्मिटले कम्पनीको आन्तरिक अनुसन्धानको एउटा प्रतिवेदन उद्धृत गर्दै एक प्रतिशत होइन, २० प्रतिशत किशोरकिशोरीले इन्स्टाग्राम प्रयोग गर्दा आफूलाई नराम्रो महसुस हुने बताएको तथ्य प्रस्तुत गरे। सोही प्रतिवेदनमा ४१ प्रतिशतले राम्रो महसुस हुने र अर्को ४१ प्रतिशतले कुनै प्रभाव नपर्ने बताएका थिए।

स्मिटले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई मेटाका प्लेटफर्मबाट रोक्न कम्पनीलाई उमेर प्रमाणीकरणसम्बन्धी चुनौती रहेको पनि बताए। उनले गोपनीयता कानुनका कारण प्रयोगकर्ताको उमेर पहिचान गर्न आवश्यक व्यक्तिगत डेटा संकलन र प्रयोग गर्नसमेत सीमितता रहेको तर्क गरे।

मेटाले फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन नगरिएको दाबी गर्दै वैज्ञानिक अनुसन्धानले सामाजिक सञ्जालको लतलाई अहिलेसम्म स्पष्ट रूपमा पुष्टि नगरेको जिकिर गरेको छ।

तर, राज्य पक्षले मेटाबाट प्राप्त लाखौँ आन्तरिक दस्तावेज, कर्मचारीका इमेल, च्याट तथा अनुसन्धानलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै कम्पनीको दाबीको खण्डन गरेको छ। राज्य पक्षका अनुसार मेटाको आन्तरिक अनुसन्धानमै किशोरकिशोरीले इन्स्टाग्राम प्रयोगबारे ‘लत लागेको व्यक्तिको जस्तो धारणा’ राख्ने गरेको उल्लेख छ।

यस्तै, प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय बढाउने गरी बनाइएका सुविधाले मानिसको मानसिक कल्याण र ध्यान केन्द्रित गर्ने क्षमतामा नकारात्मक असर पार्न सक्ने कुरा पनि मेटाको आन्तरिक दस्तावेजमा उल्लेख गरिएको दाबी गरिएको छ।

राज्य पक्षले मेटाले बालबालिका र किशोरकिशोरीलाई लक्षित गर्दै आफ्ना प्लेटफर्म सुरक्षित रहेको भन्दै सार्वजनिक रूपमा प्रचार गरेको आरोप लगाएको छ। मेटाको व्यापारिक मोडललाई राज्य पक्षले ‘प्रयोगकर्तालाई आकर्षित गर्ने, सकेसम्म लामो समय प्लेटफर्ममा टिकाइराख्ने, उनीहरूको डेटा संकलन गर्ने र सार्वजनिक रूपमा सत्य लुकाउने’ रणनीतिका रूपमा चित्रण गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×