
जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक महत्व बोकेका पोखरी अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन गुठी संस्थानले अभियान सुरु गरेको छ। गुठी संस्थान जनकपुरधामले स्थानीय गिरनारी कुटीको छेउमा रहेको गुठी जग्गामा डोजर चलाएर अतिक्रमण हटाएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको सहयोगमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको गुठी संस्थानले जनाएको छ।
गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा सातवटा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन थालिएको छ। जनकपुरधामका अन्य पोखरीसमेत अतिक्रमणमा परेको जानकारी दिँदै पोखरेलले ती पोखरीको सीमांकनको काम भइरहेको बताए। सीमांकन सकिएपछि अन्य पोखरीमा भएको अतिक्रमणसमेत हटाइने उनले जानकारी दिए।
उनका अनुसार गत साउन १ गते नै अतिक्रमित स्थान खाली गर्न सूचना जारी गरिएको थियो। यसअघि पनि गुठी संस्थानले अतिक्रमित पोखरी खाली गर्न सूचना जारी गर्नुका साथै अतिक्रमित क्षेत्र पहिचान गर्न रातो घेरा लगाएको थियो। तर, सूचना र माइकिङलाई बेवास्ता गरेपछि डोजर लगाएर अतिक्रमण हटाउन थालिएको हो।
अतिक्रमण हटाउन २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको जनकपुरको गुठी अतिक्रमित जग्गासम्बन्धी प्रतिवेदनलाई आधार बनाइएको छ। गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा सातवटा पोखरी अतिक्रमणमुक्त गराउन काम भइरहेको बताए। उनका अनुसार जनकपुरधाममा अतिक्रमणमा परेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटाको डिल खाली गराइनेछ।
विसहरा पोखरी, रत्नसागरलगायत सातवटा पोखरीमा अतिक्रमण हटाउन यसअघि नै सूचना प्रकाशित गरिएको थियो। बाँकी पोखरीको सीमांकनको काम पूरा भएपछि ती क्षेत्रमा समेत अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने गुठी संस्थानले जनाएको छ।

























