
काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज शनिबार बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।
डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार अपराह्न २ बजे सुरु हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ।
पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल ‘ए’ ले आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ। प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा सुधार गर्ने अवसर बाँकी छ।
नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो। प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपाल ‘ए’ का लागि आजको खेलपछि पनि प्रतियोगितामा सुधार गर्दै अगाडि बढ्ने पर्याप्त अवसर रहेको छ।



















