
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो जित हात पारेको छ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो।
नेपाल ‘ए’ ले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स एकेडेमी १८.३ ओभरमा ११५ रनमै अलआउट भयो। उसका लागि नितेश सामुएलले ३७ तथा टिम वार्डले २३ रन बनाए।
नेपालका लागि नारायण जोशीले सर्वाधिक तीन विकेट लिए। शाहब आलम र पवन सर्राफले दुई–दुई विकेट हात पार्दा विपिन खत्रीले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा ६ चौकासहित उक्त रन बनाएका हुन्। मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन जोडे। तृतराज दासले १० रन बनाए।
यो नेपाल ‘ए’ को प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो। यसअघि खेलेका दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो।

























