एभरेस्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सुरु

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १७:४७

विराटनगर । राष्ट्रिय पौडी प्रतियोगिताका लागि विद्यार्थी खेलाडी तयार गर्ने उद्देश्यले विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सुरु भएको छ । आज (शनिबार) सुरु प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।

विद्यालयका करिब २०० विद्यार्थी सहभागी प्रतियोगितामा १५ देखि १ हजार ५०० मिटर दूरीका विभिन्न स्पर्धा राखिएका छन् । उत्कृष्ट खेलाडीलाई आगामी राष्ट्रिय प्रतियोगिताका लागि तयार गरिने विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रिबन काटेर प्रतियोगिताको उद्घाटन गरे । पहिलो दिनको १ हजार ५०० मिटर खुला फ्रिस्टाइलमा पुरव तिम्सिना प्रथम, सुज्ञान कोइराला द्वितीय र आरध्य पाण्डे तृतीय भए ।

८०० मिटर खुलामा श्रीयंश थापा प्रथम, प्रनव भट्टराई द्वितीय र आरभकुमार चौधरी तृतीय भए । १०० मिटर फ्रिस्टाइल छात्रातर्फ आश्ना कटुवाल प्रथम, रश्मी गौतम द्वितीय र आरध्या पोखरेल तृतीय भए । ५० मिटर फ्रिस्टाइल छात्रातर्फ युभान श्रेष्ठ प्रथम, अरिजित कर्ण द्वितीय र सन्दर्भ अर्याल तृतीय भए ।

विभिन्न उमेर समूहमा फ्रिस्टाइल, बटरफ्लाई, ब्रेस्टस्ट्रोक र ब्याकस्ट्रोकलगायत स्पर्धा सञ्चालन भइरहेका छन् । उद्घाटनमा मेयर कोइरालाले विद्यार्थीको शैक्षिक ज्ञानसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताए ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयमा १३ वटा अतिरिक्त क्रियाकलाप नियमित सञ्चालन भइरहेको जानकारी दिए । पौडीले खेलकुदसँगै अनुशासन, स्वस्थ जीवनशैली र विपद्का बेला आफू तथा अरूलाई बचाउने सीप विकासमा समेत सहयोग पुग्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×