बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै राहत

Share this
620shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १०:२८

नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत सामग्री वितरण थालेको छ। दाता तथा इच्छुक व्यक्तिबाट प्राप्त सामग्री एकद्वार प्रणालीमार्फत संकलन गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाइएको समितिले जनाएको छ।

नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्। तीमध्ये विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा छन्।

Advertisement

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शम्भुप्रसाद रेग्मीका अनुसार संकलित राहत सामग्री आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा पठाउने गरिएको छ। सडक पहुँच नभएका स्थानमा हेलिकप्टरमार्फत समेत सामग्री पुर्‍याइएको उनले बताए।

स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा आश्रय लिएका बाढीपीडितका लागि खाना, बास, स्वास्थ्य परीक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्था गरिएको छ। राहत सामग्रीमा चामल, दाल, चाउचाउ र बिस्कुटलगायत खाद्यवस्तु बढी प्राप्त भए पनि लत्ताकपडा भने तुलनात्मक रूपमा कम आएको समितिले जनाएको छ।

केही दाता तथा व्यक्तिले सहज पहुँच भएका सेन्टरमा सिधै राहत पुर्‍याउँदा सबै स्थानमा समान रूपमा सामग्री पुग्न नसकेको जनाइएको छ। प्रभावित क्षेत्रमा विदुरको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर र देवीघाट तथा किस्पाङको शान्तिबजार, नयाँ पुल र मैलुङ क्षेत्र बढी प्रभावित छन्। बेलकोटगढीका ठूलो खोला, बुधसिङघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटार पनि प्रभावित छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×