
काठमाडौं । बाढी र पहिरोबाट उत्पन्न संकटका बीच भारतले नेपाललाई महत्त्वपूर्ण उद्धार र राहत सहायता उपलब्ध गराएको छ। क्षतिको गाम्भीर्यलाई हेर्दै भारतले अत्याधुनिक उपकरणसहितका विशेषज्ञ टोली र भौतिक पूर्वाधारका सामग्री पठाएको हो ।
भारतीय विदेश मन्त्री एस. जयशंकरका अनुसार, जलविद्युत् आयोजनाका सुरुङहरूमा हराइरहेकाहरूको खोजीका लागि ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ (सुरुङ प्राविधिक दस्ता) नेपाल आइपुगेको छ । यो टोलीसँग सुरुङभित्र खोज र उद्धारका लागि आवश्यक विशेष प्रविधि र उपकरणहरू रहेका छन् ।
त्यस्तै, बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूको पहिचान खुलाउन भारतले डीएनए विश्लेषण गर्ने फोरेन्सिक विशेषज्ञ र उपकरण समेत पठाएको छ । हालसम्म ७३४ शव फेला परेको र धेरैको पहिचान खुल्न बाँकी रहेको अवस्थामा यो टोलीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सडक सञ्जाल पुनः स्थापनाका लागि भारतले २३० फिट लामो ‘सिंगल लेन मोडलर स्टिल ब्रिज’ बोकेका १६ वटा ट्रक नेपाल पठाएको छ । साथै, थप ७ वटा बेली ब्रिज का उपकरणहरू पनि चाँडै आइपुग्ने बताइएको छ । यस सहयोगले बाढीले ध्वस्त पारेका राजमार्गका पुलहरू सञ्चालन गर्न र आवागमन सहज बनाउन ठुलो मद्दत पुग्नेछ ।



















