
काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आइतबार (आज) देखि मलेसियामा सुरु हुँदैछ । १० टोली सहभागी यस प्रतियोगिताको उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रँदै छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने यो खेल ५० ओभरको ढाँचामा नेपाल र बहराइनबीचको पहिलो प्रतिस्पर्धा हुनेछ ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । मलेसियाविरुद्धको पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ भने हङकङसँगको एक दिवसीय नेपाल केही कमजोर देखिएको छ । हङकङसँग खेलिएका चार खेलमध्ये नेपालले एक खेल मात्र जितेको छ ।
यस पटकको प्रिमियर कपको विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउने छ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र फाइनल जित्ने टोलीले एसिया कपको टिकट काट्नेछ। यसअघि सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करणको प्रिमियर कपको उपाधि नेपालले जितेको थियो। तर, सन् २०२४ मा टी–२० ढाँचामा भएको दोस्रो संस्करणमा नेपाल चौथो स्थानमा सीमित भएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाललाई उपाधिको बलियो दाबेदार मानेका छन्। प्रतियोगिताअघि भारतमा गरिएको प्रशिक्षण र मलेसियामा खेलिएका अभ्यास खेलहरूले टोलीलाई निकै फाइदा पुग्ने उनको विश्लेषण छ ।
चौधरी भन्छन्, ‘मुख्य प्रशिक्षक स्टुअर्ट लको निगरानीमा टोलीले राम्रो तयारी गरेको छ। देव खनाल, आसिफ शेख र अर्जुन कुमाल जस्ता खेलाडीहरू लयमा छन् । नेपालको मुख्य शक्ति भनेको बलिङ नै हो ।’ उनले विदेशी पिच भए पनि अभ्यासले खेलाडीहरू अभ्यस्त भइसकेको बताउँदै ओमान र युएईलाई नेपालको प्रमुख प्रतिद्वन्द्वीका रूपमा औँल्याएका छन् ।
नेपालले पहिलो संस्करणको सफलतालाई दोहोर्याउँदै फेरि एक पटक एसिया कपमा पुग्ने सपना साकार पार्न आजदेखि आफ्नो यात्रा सुरु गर्दै छ ।



















