सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १२:५३

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो । लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुदेखि नै संयमित र प्रभावशाली ब्याटिङ गर्दै सहज जित हात पारेको हो ।

Advertisement

नेपालको जितमा अर्जुन कुमालले महत्वपूर्ण योगदान दिए । ओपनिङमा आएका अर्जुन ३६ रनमा अविजित रहे । रोहित पौडेलले १४ बलमा १९ रन बनाए भने आसिफ शेखले पनि १९ रनको योगदान दिए । उनीहरूको ब्याटिङपछि नेपाललाई लक्ष्य भेट्टाउन कुनै कठिनाइ भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु सुरुदेखि नै दबाबमा परेको थियो । उसका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अलि दाउदले १० रन जोडे । बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली बलरले लगातार विकेट लिँदा बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो । बहराइनको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन मात्र खर्चिएर ५ विकेट लिए । ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।

कप्तानका रूपमा पुनरागमन गरेपछि सन्दीपको यो पहिलो आधिकारिक खेल हो । नेपाल क्रिकेट संघ (क्यान)ले गत महिना रोहितकुमार पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई पुनः राष्ट्रिय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । पुनरागमनको पहिलो खेलमै पाँच विकेट लिएर सन्दीपले आफ्नो कप्तानी र बलिङ दुवैमा प्रभावशाली सुरुवात गरेका छन् ।

मलेसियाको वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको खेलमा नेपालले बलिङपछि ब्याटिङमा समेत बहराइनमाथि निरन्तर दबाब कायम राख्यो । ८७ रनमा बहराइनलाई समेटेपछि नेपालले २१ ओभरमै लक्ष्य पूरा गर्दै ७ विकेटको जित दर्ता गर्‍यो । जितसँगै नेपालले एसीसी पुरुष प्रिमियर कपको समूह ‘ए’मा पहिलो खेलबाटै महत्वपूर्ण २ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×