
हेटौंडा । ‘भरे कुरा गरौंला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दै सविन रानामगरले यति भनेर फोन राखेका थिए ।
काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् । तर, त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमानलाई पटक–पटक फोन गरिन् । फोन उठेन । त्यसपछि उनीहरूबीच फेरि कुराकानी हुन सकेन । बिहान ‘भरे कुरा गरौंला’ भनेर छुट्टिएको संवाद नै उनीहरूको अन्तिम बन्यो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए । एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते आइतबार काममा फर्किएका थिए । सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार उनी आइतबार घरबाट हिँडेर काठमाडौं बसेका थिए । मंगलबार मात्रै रसुवा पुगेका सविनले बुधबारदेखि काम सुरु गरेका थिए ।
‘घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच–छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,’ उनले भनिन्, ‘मंगलबार मात्रै रसुवा पुगेको थियो रे । त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो।’
सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन सविनबाट कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि आफन्तले उनको खोजीमा अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले । अन्ततः सोमबार नवलपरासीमा एउटा शव फेला पर्यो । शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु ।
भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको हो । सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन् ।
सविनको परिवार फोन आउने आशामा बसिरहेका बेला हेटौंडा उपमहानगरपालिका–५ ढुंगेधारामा रहेको अर्को परिवार पनि उस्तै बेचैनीमा थियो । दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए । छोरीलाई विद्यालय जान सहज होस् भनेर उनले विद्यालय नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए ।
भदौ १० गते बिहान भोटेकोशीमा आएको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौंडामा रहेका उद्धवका आफन्तले उनलाई फोन गर्न थाले । तर उद्धवको फोन लागेन । पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन । भदौ ११ गते हेटौंडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो । सडक अवरुद्ध भएकाले टोली काठमाडौंमै रोकियो । काठमाडौंका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नभेटिएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो ।
त्यहाँ नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा निरू खड्का र निमिसा खड्काको नाम भेटियो । आमा–छोरी जीवित थिए । उनीहरूको उद्धारपछि हेटौंडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होलान् भन्ने परिवारको आशा थपिएको थियो । तर, उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन । परिवारका सदस्यले अस्पतालदेखि सम्भावित स्थानसम्म उनको खोजी गरिरहे ।
अन्ततः भदौ १२ गते नवलपरासीमा उद्धवको शव फेला पर्यो । हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्रै परिवारसँग बस्न कोठामा आउने गर्थे । बाढी आउँदा उनी काममै थिए । कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएका थिए ।
‘उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन् । छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,’ वडाध्यक्ष घिमिरेले भने, ‘त्यो दिन बिहान एक्कासी बाढी आयो। श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन् ।’
निरू र निमिसा जीवितै हेटौंडा फर्किए । उद्धव भने फर्किएनन् । सविन चार वर्षदेखि र उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्रै रसुवा पुर्याएको थियो ।
त्यसअघि हेटौंडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत सुमन रसुवामा जलविद्युत् आयोजनामा स्काभेटर चालकका रूपमा काम गर्थे । बाढी आएको बिहान उनी रातिको काम सकेर फर्किएका थिए । बिहान करिब ६ बजे श्रीमती रेविकासँग फोनमा कुरा गरे । रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए ।
सुमनकी छिमेकी निर्मला घलानका अनुसार त्यसपछि श्रीमतीसँग उनको फेरि कुरा हुन पाएन । ‘राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,’ उनले भनिन्, ‘नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ । रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौंला भनेको थियो रे । बिहानै बाढीले बगाएछ ।’
बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटक–पटक फोन गर्यो । तर सम्पर्क हुन सकेन । सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीअनुसार बाढी आउँदा उनी सुतिरहेका थिए । साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको निर्मलाले बताइन् ।
अन्ततः सुमनको शव पनि नवलपरासीमा फेला पर्यो । उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन् ।
सविन, उद्धव र सुमनका घर फरक थिए । रसुवा पुगेको समय पनि फरक थियो । उनीहरूको काम र जिम्मेवारी फरक–फरक थियो । तर, तीनै जनालाई घरबाट टाढा पुर्याउने कारण एउटै थियो—रोजगारी । त्यही रोजगारीले उनीहरूलाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो । बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग सम्पर्क थियो । सविनले श्रीमतीलाई ‘भरे कुरा गरौंला’ भनेका थिए । सुमनले रातिको कामपछि अहिले सुत्ने र दिउँसो फोन गर्ने बताएका थिए । उद्धवको पनि परिवारसँग अघिल्लो दिनसम्म कुराकानी भइरहेको थियो ।
त्यसपछि फोनहरू लाग्न छाडे । परिवारले सुरुमा फोनको प्रतीक्षा गरे । त्यसपछि उद्धार गरिएकाहरूको सूचीमा नाम खोजे । अस्पताल पुगे । शव राखिएका स्थानसम्म आफ्ना मान्छेको खोजी गर्दै हिँडे । उद्धवको परिवारले निरू र निमिसालाई जीवित भेटेपछि उनी पनि फर्किने आशा राखेको थियो । सविनको परिवारले भने अन्ततः अनुहारबाट समेत चिन्न नसकिएको शवलाई हातको ट्याटुबाट पहिचान गर्नुपर्यो ।
रोजगारीका लागि घर छाड्दा तीनै जनासँग घर फर्किने योजना थियो । सविन केही दिनअघि मात्रै बिदा छोट्याएर काममा फर्किएका थिए । सुमन दुई महिनाअघि राम्रो कमाइको आशामा रसुवा पुगेका थिए । उद्धवले पत्नी र छोरीलाई समेत आफूसँग राखेर त्यहीँ परिवारको भविष्य बनाउने प्रयास गरेका थिए ।
तर, भोटेकोशीको एक बिहानले ती सबै योजना अधुरै छाडिदियो । फेरि फोन गर्ने भनेर छुट्टिएका सविन र सुमनको फोन आएन । उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी आफैं बाढीबाट जोगिएर फर्किए, उनी फर्किएनन् । रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको खोजी अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुंगियो ।

























