
रंगेली । रसुवामा भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मोरङको रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका छन् ।
विद्यालयका कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट सकेसम्म रकम बचत गरी कक्षागत रूपमा सहयोग रकम संकलन गरेका हुन् । विद्यार्थीहरूले संकलन गरेको कुल ६ हजार २ सय ५४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाइएको विद्यालयले जनाएको छ ।

विपद्का कारण प्रभावित परिवारलाई राहत र सहयोग आवश्यक परिरहेका बेला साना बालबालिकाले समेत आफ्नो गच्छेअनुसार रकम जुटाएर सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सकारात्मक उदाहरण भएको विद्यालयको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले विद्यार्थीहरूले संकलन गरेको रकम क्यूआरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाइएको जानकारी दिए । सानो उमेरमै विपद्मा परेका नागरिकप्रति सहयोग र सहानुभूति देखाउँदै विद्यार्थीहरूले गरेको यो पहलले समाजमा सहयोगी भावना र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्न सकारात्मक सन्देश दिएको मेवाहाङको भनाइ छ ।



























