
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको सरकारले अनुमान गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले गरेको प्रारम्भिक अनुमानअनुसार निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले आज (मंगलबार) पत्रकारसँगको छलफलमा यस्तो जानकारी दिएका हुन् ।
बाढीका कारण ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको पनि विभागले जनाएको छ । यद्यपि क्षतिको अध्ययन अझै जारी रहेकाले संख्या तलमाथि हुन सक्ने विभागको भनाइ छ ।
विभागका अनुसार ६ हजारभन्दा बढी घरपरिवारका लागि त्यति नै संख्यामा अस्थायी आवास निर्माण गर्न कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने अनुमान गरिएको छ ।

























