
विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार (आज) विराटनगरसहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णको पूजा आराधना गर्न आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको ठुलो घुइँचो लागेको छ ।

विराटनगर–१ स्थित प्रसिद्ध राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरू पूजाआजा, भजन कीर्तन र दर्शनका लागि लामबद्ध भएका छन् । भक्तजनहरू आज दिनभर व्रत बसी रातभर जाग्राम बसेर श्रीकृष्णको जन्मोत्सव मनाउने तयारीमा छन् ।

बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजमा यो पर्वले आपसी सद्भाव र भावनात्मक एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । श्रीकृष्णले महाभारतको युद्धमा अर्जुनलाई दिएको ‘श्रीमद्भागवत गीता’ को उपदेशले कर्म, सत्य र न्यायको मार्ग देखाउने धार्मिक विश्वास छ ।

यस विशेष अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ। काठमाडौंको पाटनस्थित कृष्ण मन्दिरलगायत देशभरका विभिन्न स्थानमा आज विशेष मेला र उत्सवहरू आयोजना भइरहेका छन्।






























