
काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज (शनिबार) विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको हो । शनिबार देशभरको मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा केही स्थान तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । रातको समयमा पनि मौसममा उल्लेख्य सुधार आउने देखिएको छैन ।
देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेशका केही स्थानमा समेत वर्षाको सम्भावना छ ।
रात पनि कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । भारी वर्षा हुने क्षेत्रहरूमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न महाशाखाले अनुरोध गरेको छ ।

























