
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण सार्वजनिक अनुसार केही सडक पूर्ण रूपमा बन्द र केही एकतर्फी सञ्चालनमा रहेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विसापानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्ड एकतर्फी सञ्चालनमा छ । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ पनि एकतर्फी सञ्चालनमा आएको छ ।
काभ्रेमा सम्भावित बाढीका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड प्रभावित छ । अर्को सूचना नभएसम्म १० टनसम्मका मालवाहक सवारी राति ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने र बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म परिस्थितिको मूल्यांकन गरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा जिल्लाका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी–पहिरोका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
बेलकोटगढी नगरपालिका–१० सिमटारमा बाढीले पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । धादिङको बेनीघाट रोराङ–७ कृष्णभीरमा पृथ्वीलोकमार्ग पूर्ण रूपमा बन्द छ भने गजुरी–२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
बेनीघाट रोराङ–१० ज्वालामुखीखोलामा भने पृथ्वीलोकमार्ग एकतर्फी सञ्चालनमा छ । लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालुवोरमा पहिरोले सहिद राजमार्ग पूर्ण रूपमा बन्द गरेको छ ।
कर्णाली प्रदेशमा मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडक तथा कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।





















