
विराटनगर । ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्रमा पर्ने तिम्बुङ पोखरीमा ‘तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन’ प्रतियोगिता भदौ २५ गते हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुने २१ किलोमिटर दूरीको प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको बनाइएको हो । नेपालका साथै भारतका सिक्किम, पश्चिम बंगाल र पञ्जाबबाट समेत धावक सहभागी हुने आयोजकले जनाएको छ ।
समुद्र सतहबाट करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीबाट सुरु हुने दौड ३ हजार ८ सय मिटर उचाइमा रहेको पाङदुवा हुँदै पुनः ४ हजार २ सय मिटर उचाइको ठूलो भञ्ज्याङ पुगेर पूरा हुनेछ ।
‘कोशी प्रदेश भ्रमण वर्ष २०८३’ को अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य तिम्बुङ पोखरी क्षेत्रको पर्यटन, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितासँगै तिम्बुङ क्षेत्रलाई ‘केन्जोको राजधानी’ का रूपमा प्रवर्द्धन गर्ने कार्यक्रमसमेत हुनेछन् । केन्जो फूलको बगैँचा अवलोकन, याक तथा चौँरी प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी र परम्परागत केलाङ नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
खुला पुरुष तथा महिला विधामा प्रथम हुनेले समान ८३ हजार ५२५, दोस्रोले ६३ हजार ५२५ र तेस्रोले ४३ हजार ५२५ रुपैयाँ पुरस्कार पाउनेछन् । स्थानीय विधाका विजेताले ३३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी प्रत्येक धावकको दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रतियोगिता सञ्चालनमा करिब १९ लाख २६ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
पर्यटन क्षेत्रमा योगदान पुर्याउने ताप्लेजुङ र पाँचथरका पत्रकारलाई ‘तिम्बुङ पोखरी पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कार राशि जनही ३० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको मुख्य प्रवर्द्धक सिदिङ्वा गाउँपालिका रहेको छ भने पर्यटन कार्यालय काँकडभिट्टाले आर्थिक सहयोग गरेको छ । ट्रेक ८५८६, समृद्ध पहाड, इको, युरोपियन युनियन र सारस बेभरेजलगायत संस्थाले पनि सहयोग गरेका छन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा भदौ २४ गते सिदिङ्वा गाउँपालिकाको कार्यपालिका बैठक तिम्बुङ पोखरीमै बस्ने भएको छ । सो बैठकबाट तिम्बुङ पोखरी क्षेत्रलाई ‘केन्जोको राजधानी’ घोषणा गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ ।

























