कांग्रेसले फेरि सार्‍यो तल्लो तहका अधिवेशन, गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १६:१४

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने तल्लो तहका अधिवेशनको कार्यतालिका पुनः संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको मंगलबार बसेको बैठकले यसअघि सार्वजनिक गरिएको कार्यतालिकामा फेरबदल गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार गाउँ तथा नगर अधिवेशन ३ र ४ असोजमा हुने भएको छ । स्थानीय परिस्थितिअनुसार ती दुईमध्ये कुनै एक दिन अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

Advertisement

यसअघि निर्वाचन समितिले वडा अधिवेशन भदौ २४ गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । पछिल्लो संशोधनअनुसार प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भने असोज १० गते हुनेछ ।

केन्द्रीय महाधिवेशनको मितिमा भने कुनै परिवर्तन गरिएको छैन । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने तय भएको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुनेछ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने स्थानीय अवस्थालाई ध्यानमा राखेर अधिवेशन सञ्चालन गर्न भनिएको छ । ती जिल्लामा तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित स्थानीय तह तथा पार्टी संरचनासँग समन्वय गरी अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

त्यसैगरी, नेपाली जनसम्पर्क समितिअन्तर्गत अधिवेशन हुन बाँकी रहेका देशमा १० असोजभित्र अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ । निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×