
काठमाडौं । बाढीबाट प्रभावित नेपालमा राहत, प्रतिकार्य तथा पुनर्लाभको काममा सहयोग गर्न अमेरिकाले मेगन बोल्डिनलाई कार्यवाहक राजदूतका रूपमा काठमाडौं पठाएको छ ।
ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत बोल्डिनलाई केही समयका लागि नेपालमा कार्यवाहक राजदूतको जिम्मेवारी दिइएको हो । उनले विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोग तथा बाढी प्रभावित क्षेत्रमा भइरहेको प्रतिकार्यमा केन्द्रित भएर काम गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बोल्डिनले नेपालमा आगामी केही महिना कार्यवाहक राजदूतका रूपमा काम गर्नेछिन् । उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्दै प्रतिकार्य र पुनर्लाभका लागि अमेरिकी दूतावासबाट भइरहेका गतिविधिको नेतृत्व गर्नेछिन् ।
सन् २०२४ को अगस्टदेखि ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखको जिम्मेवारीमा रहेकी बोल्डिन अमेरिकी परराष्ट्र सेवाकी करिअर सदस्य हुन् । उनीसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वका क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ ।
बोल्डिनले यसअघि युक्रेन, इराक र बंगलादेशमा समेत काम गरिसकेकी छन् । उनले वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत जिम्मेवारी सम्हालेकी थिइन् ।
नेपालमा बाढीपछिको राहत, प्रतिकार्य र पुनर्लाभका काम जारी रहेका बेला बोल्डिनको काठमाडौं आगमनलाई नेपाल सरकार तथा अन्य साझेदार निकायसँग समन्वय गरेर काम गर्ने अमेरिकी प्रतिबद्धताका रूपमा दूतावासले उल्लेख गरेको छ ।
अमेरिकाले बाढीबाट प्रभावित आफ्ना नागरिकलाई सहयोग गर्नुका साथै नेपालमा भइरहेको प्रतिकार्य र पुनर्लाभका प्रयासमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

























