
काठमाडौं । माइतीघर मण्डलामा आज (मंगलबार) साँझ एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाएकी थिइन् ।
शरीरमा आगो लगाएपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार युवतीको आत्मदाह प्रयास गर्नुको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माइतीघर मण्डलामा पछिल्लो समय आत्मदाह प्रयासका घटना दोहोरिँदै आएका छन् । यसअघि साउनमा लघुवित्तपीडित सर्लाहीका नथुनी मुखियाले माइतीघरमै आत्मदाह प्रयास गरेका थिए ।
त्यस्तै, असारमा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।

























